पोखरा – पोखरामा भैरहेको दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै विभागीय टोली एपीएफ फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई ३-० सेटले हरायो ।
एपीएफले पहिलो सेट २५-८ ले जितेको हो । दोस्रो सेटमा केहि बलियो भएर कोर्ट उत्रिएको गण्डकी प्रदेशले अन्तिम सम्म अग्रता जोगाउन सकेन ।
दोस्रो सेटमा एपीएफले २५-१८ को जित निकाल्न सफल भएको हो । २-० को अग्रता बनाएको एपीएफले तेस्रो सेट २५-११ ले सहजै जित्दै खेल आफ्नो पक्षमा पारेको हो ।
आजको जितसंगै एपीएफले फाइनलमा स्थान पक्का गरेको छ । एपीएफले अब फाइनलमा नेपाल पुलिससंग खेल्ने छ ।
त्यस्तै आज नै भएको अर्को सेमिफाइनलमा नेपाल पुलिसले प्रदेश ३ लाई प्रतिस्पर्धात्मक खेलमा ३-२ को सेटमा हराउँदै फाइनलमा स्थान पक्का गरेको छ । पुलिसले जितेपछि अब फाइनल खेल ‘विभागिय डर्बी’ हुने भएको छ । पुलिसले प्रदेश ३ लाई १८-२५, २५-२०, २०-२५, २७-२५, १५-७ ले पराजित गरेको हो ।
