काठमाडौँ– नेपाल सरकारले क्रिकेट, साग, फुटबल एवं वर्लड च्याम्पियनसिपमा सफलता प्राप्त गर्ने खेलाडी, प्रशिक्षक तथा अफिसियललाई पुरस्कारस्वरुप रु एक करोड ५६ लाख प्रदान गर्ने भएको छ ।
यही माघ २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
जसमा अनुसार क्रिकेट टिमका खेलाडीहरुलाई पूर्व घोषित जनही पाँच लाख, मुख्य प्रशिक्षकलाई तीन लाख, अफिसियललाई जनही दुई लाख रकम दिने निर्णय गरेको बताइएको छ ।
युएइ विरूद्दको ऐतिहासिक एकदिवसिय र टी-२० सिरीज जितेपछि खेलाडीलाइ जनही ५ लाखको पुरस्कार युवा तथा खेलकुद मन्त्रालयले गरेको सिफारिस पारित भएको हो ।
त्यस्तै फुटबल खेलाडीलाई दुई लाख र शारीरिक सुगठन प्रतियोगिताका विश्व च्याम्पियन बनेका महेश्वर महर्जनलाई पाँच लाख दिने निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी गराए ।
साथै सरकारले राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५ सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको पनि जानकारी दिए ।