काठमाडौँ – नेपालको शहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले एएफसी कप को समूह चरणमा दुई वटा भारतीय क्लबसँग खेल्ने भएको छ। जसमा इन्डियन सुपर लिग (आइएसएल) दुई पटक जितिसकेको चेन्नायीन एफसी र एक पटकको आइ लिग विजेता मिनेर्भा पञ्जाव छन्।
समूह इ मा यसअघि नै मनाङ मर्स्याङ्दी, मिनेर्भा पञ्जाव र बंगलादेशको अबहनी लिमिटेड ढाकाले स्थान पक्का गरिसकेका थिए। बाँकी भएको एक स्थानको लागि भएको प्लेअफको खेलमा चेन्नायीन एफसीले श्रीलंकाली क्लब कोलोम्बो एफसीलाई समग्रमा १-० ले पराजित गर्दै समूह चरणमा स्थान बनाएको हो।
मिनेर्भाले सन् २०१७/१८ को आइ- लिग को उपाधि जित्दा नेपालका किरण चेम्जोंगले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
अप्रिल ३ देखि सुरु हुने खेलहरु अन्तर्गत मनाङ मर्स्याङ्दी क्लबले आफ्नो पहिलो खेलमा बंगलादेशको अबहनी लिमिटेड ढाकासँग प्रतिस्पर्धा गर्नेछ।
