विराटनगर : श्रीलंका र भारत एक खेल खेल्नुअघि नै पाँचौ साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ।
समूह बी अन्तर्गत शुक्रवार भएको खेलमा माल्दिभ्सलाई २-० ले पराजित गर्दै श्रीलंका एक खेल अघि नै सेमिफाइनल पुगेको हो। यस खेलको नतिजापछि पहिलो खेलमा माल्दिभ्सलाई ६-० ले पराजित गरेको भारत पनि अन्तिम चारमा पुगेको छ।
लगातार दुई हारपछि माल्दिभ्स भने समूह चरणबाटै बाहिरिएको छ।
विराटनगरको शहिद रंगशालमा भएको खेलमा श्रीलंकालाई जित दिलाउन चालानी कुमारी इकानायाकेले ४०औँ र ५०औँ मिनेटमा गोल गरेकी थिइन्।
भारत र श्रीलंकाले समूह चरण पार गरेपछि सेमिफाइनल पुग्ने चार वटै टोलको टुङ्गो लागिसकेको छ। यसअघि नै समूह ए बाट घरेलु टोली नेपाल र बंगलादेश सेमिफाइनल पुगिसकेका छन् भने भुटान बाहिरिएको छ।
अब समूह ए मा नेपाल र बंगलादेश तथा समूह बी मा भारत र श्रीलंकाबीच हुने खेलपछि दुवै समूह्यको समूह विजेता र उपविजेताको निर्णय हुनेछ।
नेपाल र बंगलादेशबीचको खेल शनिवार हुनेछ भने भारत र श्रीलंका आइतवार खेल्नेछन्।
