युवा खेलाडी मोइस किनले गोल गरेपछि क्रिस्टियानो रोनाल्डो बिना मैदानमा उत्रिएको युभेन्टसले सिरी ए अन्तर्गत गएराती भएको खेलमा इम्पोलीमाथि संघर्षपूर्ण जित निकालेको छ।
खेलको ७२ औं मिनेटमा सब्सिच्युट खेलाडीको रुपमा मैदानमा प्रवेश गरेका किनले गोल गर्दै महत्त्वपूर्ण ३ अंक जोड्न मद्दत गरे। उनि टुरिनको स्थानमा मैदान प्रवेश गरेको ३ मिनेटमा टिमलाई अग्रता दिलाएका थिए।

किनको गोलसँगै १-० को जित निकालेको युभेन्टसले प्रतियोगितामा १८ अंकको अग्रता निकालेको छ। उसको २९ खेलबाट ७८ अंक रहेको छ भने दोश्रो स्थानमा रहेको नेपोलीको २८ खेलबाट ६० अंक रहेको छ। १७ औं स्थानमा रहेको इम्पोलीको २९ खेलबाट २५ अंक रहेको छ।
रोनाल्डोले पोर्चुगलको लागि खेल्नेक्रममा घाइते भएका थिए। सर्बिया बिरुद्द १-१ को बराबरी भएको खेलमा साप्रो (थाई) मा समस्या आएको थियो।
खेल सकिएपछी १९ बर्षीय युवा खेलाडी किनले आफु रोनाल्डो र मेस्सी नभएको तर उनिहरु जस्तै बन्न चाहेको बताएका थिए। उनले जारि सिजन सिरी ए मा ५ खेलबाट ३ गोल र इटालीको राष्ट्रिय टिमको लागि २ खेलमा त्यति नै गोल गरेका छन्।
