साग लक्षित गरि निर्मित टेनिस कोर्ट राखेपद्वारा हस्तान्तरण

नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी निर्माण गरिएको लनटेनिस कोर्ट राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइतबार हस्तान्तरण गरेको छ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्सलगायत अन्य पूर्वाधारको निरीक्षण गर्न सातदोबाटो पुगेका सदस्य–सचिव सिलवालले निर्माण सम्पन्न भइसके पनि हस्तान्तरण नहुँदा खेलाडीको प्रशिक्षणमा कठिनाइ भएको थाहा पाएपछि तुरुन्त साँचो नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणालाई हस्तान्तरण गरेका थिए।

‘निर्माण भइसकेको रहेछ । हस्तान्तरण गर्न किन ढिलाइ भएको हो । समारोह राखेर हस्तान्तरण गर्नु पर्छ भन्ने छैन । खेलाडीले प्रयोग गर्न पाउन भनेर बनाइएको हो । खेलाडीले प्रयोग गर्न पाउनु पर्यो । त्यही ठूलो कुरा हो ।’ सदस्य–सचिव सिलवालले भने।

टेनिस कम्प्लेक्समा रहेको पुरानो ६ क्ले कोर्टलाई विस्थापित गरी त्यत्ति नै हार्ड कोर्ट बनाइएको छ। छेउमै थप २ वटा सफ्टटेनिसका लागि पनि हार्ड कोर्ट बनाइएको छ।

सदस्य–सचिव सिलवालले सातदोबाटोस्थित स्क्वास कम्प्लेक्स, हिटिङ पुल, तेक्वान्दो भवनको अवस्था बारे जानकारी लिएका थिए । त्यसअघि सदस्य–सचिव सिलवालले १३ औं सागमा समावेश खेलका राष्ट्रिय संघका प्रतिनिधि र प्रमुख प्रशिक्षकहरुसंग खेलाडीहरुको प्रशिक्षण र समस्यका बारेमा जानकारी लिएका थिए।

बक्सिङ र संग्रहालयको स्वागत

यसैबीच नेपाल बक्सिङ संघ र नेपाल ओलम्पिक संग्रहालयले सदस्य–सचिव सिलवालको सम्मानमा स्वागत तथा बधाइ कार्यक्रम आयोजना गरेका थिए।

सातदोबाटोमै आयोजित छुट्टछुट्टै कार्यक्रममा बक्सिङ संघका अध्यक्ष राम अवाले र संग्रहालयका संस्थापक अध्यक्ष क्षितिज अरुण श्रेष्ठले बधाइ पत्र प्रदान गर्नुका साथै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिएका थिए । सदस्य–सचिव सिलवालले संग्रहालयमा राखिएका सामाग्रीको अवलोकन पनि गरेका थिए ।

२०७६ श्रावण ५, आईतवार मा प्रकाशित