सन् १९९७ देखि नेपाली अन्डर-१९ टिमले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन थालेको हो। पहिलो सहभागिता पछि २२ वर्षको अवधिमा मात्र ५ नेपाली खेलाडीले मात्र शतक बनाउन सकेका छन्। यहाँ तिनै खेलाडीहरुको बारे चर्चा गरिएको छ।
५. रित गौतम ( ११५* Vs सिंगापुर )
एसीसी यु-१९ इस्टर्न २०१९ मा सिंगापुर बिरुद्ध समुह चरणको खेलमा नेपालले २१७ रनको जित हात पार्दा रितले शतक बनाएका थिए।

खेलमा नेपालले टस जितेर ब्याटिंग गर्दै ५० ओभरमा ४ विकेट गुमाएर ३२६ रन बनाएको थियो। ओपनिङ्ग ब्याटिंग गरेका रितले अविजित ११५ रनको इनिंग खेल्ने क्रममा १३७ बलमा १० चौका र १ छक्का प्रहार गरेका थिए। खडक बोहराले ९० , कुशल मल्लले ५१ तथा पवन सर्राफले ४५ रन बनाएका थिए। जवाफमा ब्याटिंग गरेको सिंगापुरले १०९ रनमा सबै विकेट गुमाएको थियो। नेपालको बलिङ्गमा कुशल मल्लले ४ विकेट लिएका थिए।
रित नेपालको उमेर समुह क्रिकेटमा २ वटा शतक प्रहार गर्ने पहिलो क्रिकेटर हुन्। उनले नेपाली यु-१६ टिमको लागि २०१७ एसीसी यु-१६ इस्टर्न रिजनमा म्यानमार बिरुद्ध पनि शतक( १०६ रन ) बनाएका थिए।
४. राजु रिजाल (१०१ Vs युगान्डा)

सन् २०१५ मा मलेसियामा आयोजना भएको यु-१९ विश्वकप छनोट प्रतियोगितामा राजुले शतक बनाएका थिए। प्रतियोगितामा नेपालको दोश्रो खेलमा युगान्डासँग १०१ रनको महत्त्वपूर्ण पारि खेलेपछि नेपालले १७१ रनको फराकिलो जित निकालेको थियो। ११५ बलको सामना गरेका उनले ७ चौका र १ छक्का प्रहार गरेपछि नेपालले पहिले ब्याटिंग गर्दै २४२/७ बनाएको थियो। युगान्डा मात्र ७१ रनमा समेटिन पुग्यो।
प्लेयर अफ द म्याच घोषित कप्तान राजुले तेस्रो विकेटको लागि योगेन्द्र कार्की (३०) सँग ८४ रन र चौथो विकेटको लागि आरिफ शेख (५४) सँग ९० रनको साझेदारी गरेका थिए। यस प्रतियोगितामा नेपाल विजेता बन्दै सन् २०१६ को यु१९ विश्वकपको लागि छानिएको थियो।
३. फैजरुल रहमान खान (१०१ Vs ओमान)

सन् २०११ मा थाईल्याण्डको बैंककमा आयोजना भएको आठौँ एसीसी यु-१९ इलाइट कप क्रिकेटमा शतक बनाउदै फैजरुल नेपालको लागि यु-१९ क्रिकेटमा शतक बनाउने तेस्रो खेलाडी बनेका थिए।
उनले ओमान बिरुद्द ९९ बलमा १० चौका सहित १०१ रनको महत्त्वपूर्ण पारि खेलेका थिए। नेपालले ४ विकेट गुमाएर ३९१ रन बनाएको थियो। ओमान मात्र ८७ रनमा समेटीदा नेपालले ३०४ रनको जित निकालेको थियो।
प्लेयर अफ द म्याच घोषित फैजरुल खानले पहिलो विकेटको लागि सुबास खकुरेल (२२) सँग ८१ रन, दोश्रो विकेटको लागि सागर पुन (८३) सँग ११० रनको साझेदारी गरेपछि एलबिडब्ल्यु आउट भएका थिए। त्यसपछि प्रदीप ऐरी (४० बल ८६ रन), पृथु बास्कोटा (१२ बल २०* रन) र नरेश बूढाएर (१७ बल ३७* रन) ले आक्रामक इनिंग खेलेका थिए। नेपाल फाइनलमा अफगानिस्तानसँग पराजित हुँदै उपविजेता बनेको थियो।
२. कनिष्क चौगाईं (१२५ Vs माल्दिभ्स)

सन् २००३ मा पाकिस्तानको कराँचीमा आयोजना भएको युथ एसिया कपको समूह चरण अन्तर्गत माल्दिभ्सबिरुद्द कनिष्क चौगाईंले शतक बनाएका थिए। टस जितेर पहिले ब्याटिंग गरेको नेपालले कनिष्ककै शतकमा यु-१९ क्रिकेटको हालसम्मकै सर्वाधिक ठुलो ३९१ रनको योगफल बनाएको थियो। ओपनर कनिष्कले १०९ बलको सामना गर्दा १५ चौका र १ छक्काको मद्दतमा १२५ रन बनाएका थिए। त्यस्तै कप्तान शक्ति गौचन र यसवन्त सुबेदीले अर्धशतक बनाएका थिए।
बलिंगमा लाक्पा लामाले मात्र ५ रन खर्चेर ३ विकेट, शक्ति गौचन, इरफान अहमद र मन्जित श्रेष्ठले समान २/२ विकेट लिंदा माल्दिभ्स ४७ रनमा समेटिन पुग्यो र नेपालले ३४४ रनको फराकिलो जित निकाल्यो। फाइनलमा मलेसियालाई ३० रनले हराउंदै नेपालले उपाधी जितेको थियो।
१. शक्ति गौचन (१०० Vs माल्दिभ्स)

शक्ति गौचन नेपालको लागि अन्डर-१९ स्तरमा शतक बनाउने पहिलो तथा नेपालको लागि अन्तरास्ट्रिय क्रिकेटमा शतक बनाउने दोश्रो खेलाडी हुन्। यसअघि सन् २००१ को यु-१७ एसिया कपमा मनिक श्रेष्ठले सिंगापुर बिरुद्द अविजित ११३ रन (१३४ बल) बनाएका थिए। शक्तिले सन् २००१ मा काठमाडौंमा आयोजित एसीसी यु-१९ कप क्रिकेट प्रतियोगितामा माल्दिभ्स बिरुद्द शतक बनाएका थिए। उनले उक्त खेलमा १०० रनको पारि खेलेका थिए भने नेपालले प्रतियोगिताको उपाधी जितेको थियो।
नेपालले यही सेप्टेम्बर ५ देखि अन्डर-१९ एसिया कपमा सहभागिता जनाउदैछ। नेपाली यु-१९ टिमको लागि शतक बनाउने छैठौँ खेलाडी को बन्लान् ?
नेपालले सेप्टेम्बर ६ तारिखमा आयोजक श्रीलंकासंग खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ। यस्तै सेप्टेम्बर ८ मा बंगलादेशसंग दोश्रो खेल तथा सेप्टेम्बर १० मा युएईसंग तेश्रो खेल खेल्नेछ। सेप्टेम्बर १२ मा सेमीफाइनल र सेप्टेम्बर १४ मा फाइनल खेलिनेछ।
