सिंगापुरमा जारि नेपाल, जिम्बाब्वे र सिंगापुर सहभागी त्रिकोणात्मक सुरु अन्तर्गत दोश्रो खेलमा नेपाल र आयोजक सिंगापुरले प्रतिस्पर्धा गरिरहेका छन्। सिरिज अन्तर्गत नेपाल शुक्रबार जिम्बाब्वेसंग पराजित भएको थियो।
खेलमा टस जितेर पहिले ब्याटिंग गरेको सिंगापुरले २० ओभर ब्याटिंग गर्दै ३ विकेट गुमाएर १५१ रनको योगफल तयार गर्दै नेपाललाई १५२ रनको लक्ष्य दिएको छ।

६ रन बनाएका सिंगापुर ओपनर रोहन रंगराजनलाई करन केसीले चौथो ओभरमा विकेटकिपर बिनोद भण्डारीबाट क्याच दिलाउदै पहिलो विकेट दिलाएका थिए। त्यसपछि अर्का ओपनर सुरेन्द्रन चन्द्रमोहन र कप्तान टिम डेभिडले दोश्रो विकेटको लागि ३५ रनको साझेदारी गरे। २६ बलमा ५ चौका र १ छक्का मदतले ३५ रन बनाएका चन्द्रमोहनलाई नवौं ओभरमा सुशन भारिले बोल्ड गर्दै करियरकै पहिलो टि-२० अन्तर्राष्ट्रिय विकेट लिए।
दोश्रो विकेट गुमेपछि सिंगापुरको इनिंगलाई टिम डेभिडले अघि बढाए। उनले मनप्रित सिंह ( १५ रन ) संग तेश्रो विकेटको लागि ४५ रनको साझेदारी गरे। त्यसपछि पनि उनले अन्तिमसम्म ब्याटिंग गरे जुन क्रममा चौथो विकेटको लागि जनक प्रकाससंग ४९ रनको साझेदारी गरे।
टिम डेभिडले अविजित ६४ रन बनाए जुन क्रममा ४४ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। यस्तै जनक प्रकासले अविजित १८ बलमा २५ रन बनाए जुन क्रममा ३ चौका र १ छक्का प्रहार गरे।
अन्तिमको ओभरहरुमा नेपालले किफायती बलिंग गर्यो। १८ औं ओभरमा सन्दिपले मात्र ७ रन दिए भने अविनाश बोहराले १९ औं ओभरमा २ रन मात्रै खर्चिए। सोमपाल कामिले अन्तिम ओभरमा १५ रन दिएपछि सिंगापुरले १५० रनको योगफल पार गर्न सक्यो।

नेपालको बलिंगमा करन केसीले सर्वाधिक २ विकेट ( ४-०-३४-२ ) हात पारे भने देब्रे हाते स्पिनर सुशन भारिले १ विकेट ( ४-०-२७-१ ) लिए। सन्दिप लामिछानेले ४ ओभरमा मात्र १८ रन खर्चे पनि विकेटविहिन रहे। सोमपाल कामिले महँगो सावित हुने क्रममा ४ ओभरमा ४४ रन खर्चिए र विकेट विहिन रहे।
सुशन भारिको डेब्यु
देब्रे हाते स्पिनर सुशन भारि नेपालको लागि टि-२० अन्तर्राष्ट्रियमा डेब्यु गर्ने ३० औं खेलाडी बनेका छन्। सन् २०१७ इमर्जिंग कपमा सुशनले नेपालको लागि डेब्यु गरेका थिए। जिम्बाब्वेसंगको खेलमा अन्तिम-११ मा रहेका सन्दिप जोराको सट्टा सिंगापुरसंग सुशन टिममा परेका हुन्। भारिले यो वर्ष प्रधानमन्त्री कपमा कुल १३ विकेट लिएर उत्कृस्ट खेलाडी चुनिएका थिए। यस्तै नेपालगंजमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदमा समेत भारि प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका थिए।

नेपालको लागि टि-२० अन्तर्राष्ट्रीय खेल्ने खेलाडीहरु :- सोमपाल कामि, पारस खड्का, ज्ञानेन्द्र मल्ल, बिनोद भण्डारी, बसन्त रेग्मी, शरद भेसावकर, करन केसी, प्रदिप ऐरी, सन्दिप लामिछाने, दिपेन्द्र ऐरी, अविनाश बोहरा , शक्ति गौचन, सागर पुन , सुबास खकुरेल, राजेश पुलामी, रोहित पौडेल, ललित राजबंशी, नरेश बुढायर, सन्दिप जोरा, जितेन्द्र मुखिया , पवन सर्राफ, आरिफ शेख, अविनाश कर्ण, अनिल मण्डल, अमृत भट्टराई, अनिल साह, कुशल मल्ल, इशान पाण्डे , सुशन भारि
