फ्रेन्डस चन्द्रागिरी गोल्डकपको क्वाटरफाइनलमा

काठमाडौं, १ मंसिर । एनआइबिएल फ्रेन्डस क्लब राजधानीमा जारी तेस्रो संस्करणको चन्द्रागिरी मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । फ्रेन्डसले आयोजक चन्द्रागिरी नगरपालिकामाथि ५–० को फराकिलो जित निकाल्दै प्रतियोगिताको अन्तिम आठमा पुग्न सफल भएको हो।

चन्द्रागिरी नगरपालिकास्थित नैकाप फुटबल मैदानमा आइतबार भएकोखेलमा फ्रेन्डसको फराकिलो जितमा सन्जोक महर्जन, शक्ति राई, रुमेश बर्तौला, प्रिजेन तामाङ र निशान सुब्बाले गोल गरे । पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो।

फ्रेन्डसले खेलको तेस्रो मिनेटमा नै सन्जोक महर्जनको गोलबाट अग्रता लिएको थियो । पाँचौ मिनेटमा शक्ति राईले गोल गर्दै फ्रेन्डसलाई शुरुमै राम्रो शुरुवात दिलाएका थिए । २३औं मिनेटमा रुमेश बर्ताैलाले फ्रिकिकमा सुन्दर गोल गरेपछि फ्रेन्डसले पहिलो हाफमा ३–० को आरामदायी अग्रता बनाएको थियो । पहिलो हाफमा आयोजकले केही मौका खेर फालेको थियो ।

प्रतिस्पर्धात्मक बनको दोस्रो हाफमा आयोजकले फ्रेन्डसलाई दवावमा राखेपनि गोल गर्न भने सकेन । बरु दुई गोल खान पुग्यो। ४३औं मिनेटमा घरेलु टोलीले गोल गर्ने सुन्दर मौका खेर फाल्यो । अविरल रिजालको प्रहार क्रसबारमा लागेर रिवाउन्डमा पाएको बललाई अनिल गुरुले प्रहार गरेपनि सुरज गुरुङले हेडमार्फत बचाएका थिए ।

५१औं मिनेटमा प्रिजेन तामाङले बक्स बाहिरबाछ उत्कृष्ट गोल गरेपछि फ्रेन्डस फराकिलो जिततर्फ अग्रसर बनेको थियो । ७०औं मिनेटमा निशान सुब्बाले गोल गर्दै फ्रेन्डसलाई ५–० को फराकिलो जित दिलाए । निशानको फितलो प्रहार गोलरक्षक रोशन नेपालले रोक्ने कुनै मौका नै पाएन । फ्रेन्डसका सन्जोक महर्जन खेलको म्यान अफ दि म्याच घोषित भए । उनले ५ हजार रुपैया हात पारे।

प्रतियोगितामा सोमबार विभागीय नेपाल पुलिस क्लब र जावलखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउसो २ः३० बजेपछि शुरु हुनेछ ।
तेस्रो संस्करणको प्रतियोगितामा ‘ए’ डिभिजनका १० टोली र आयोजकको दुई गरी १२ टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा आयोजक दिपशिखा युवा समूह, ब्रिगेड ब्वाइज क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब र च्यासल युथ क्लब रहेका छन् ।

समूह ‘बी’ मा चन्द्रागिरी नगरपालिका, फ्रेन्डस क्लब, रुस्लान थ्री स्टार क्लब, संकटा क्लब, नेपाल एपिएफ क्लब र सरस्वती युथ क्लब रहेका छन् । १० र ११ मंसिरमा सेमिफाइनल तथा १४ मंसिरमा फाइनल खेल हुनेछ । विजेताले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ ।सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको अनुमानित लागत झन्डै ५० लाख रुपैया रहेको छ । पहिलो संस्करणमा हिमालय शेर्पा क्लब तथा दोस्रो संस्करणमा भ्याली च्यासल युथ क्लब च्याम्पियन बनेको थियो ।

२०७६ मंसिर १, आईतवार मा प्रकाशित