१३ औं दक्षिण एसियाली खेलकुद ( साग ) अन्तर्गत आज बाट सुरु भएको भलिबल खेल अन्तर्गत पहिलो खेलमा नेपाली महिला भलिबल टिमले पहिलो जित दर्ता गरेको छ।
तुलनात्मक रुपमा कमजोर टिम बंगलादेशसंग प्रतिस्पर्धा गरेको नेपालले खेल सोझो सेटमा सहजै जित्यो।
त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सम्पन्न खेलको पहिलो सेट २५-८ को अन्तरले जितेको नेपाली टिमले दोश्रो सेट पनि २५-९ ले जित्यो। त्यसपछि अन्तिम सेट नेपालले २५-११ ले जित्न सफल भयो। खेलको कुनै पनि समय बंगलादेशले नेपाली टिमलाई दबाब दिन सकेन।
साग अन्तर्गत आज नेपाली पुरुष भलिबल टिमले पनि आज पहिलो खेल बंगलादेश बिरुद्धनै खेल्दैछ। खेल नेपाली समय ७ बजे बेलुका सुरु हुँदैछ।
सागको पुरुष भलिबल अन्तर्गत नेपाल समुह ‘ए’ मा रहेको छ जुन समुहमा भारत र बंगलादेश रहेका छन्। भारतीय भलिबल टिम अझै आइसकेको छैन त्यसैले सहभागिता अझै अन्योलमा रहेको छ। बुधबार साँझसम्म भारतीय भलिबल टिम नेपाल नआए सहभागिता रद्द गरिनेछ। समुह ‘बि’ मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन्।