दिपेन्द्र ऐरीले उत्कृस्ट ब्याटिंग गर्दा श्रीलंकालाई १७३ रनको लक्ष्य

१३ औं दक्षिण एसियाली खेलकुद ( साग ) अन्तर्गत पुरुष क्रिकेटको खेलहरु टियु मैदान किर्तिपुरमा सुरु भएको छ। उद्घाटन खेलमा नेपाल र श्रीलंका यु-२३ टिम प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस हारेर ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७२ रनको योगफल तयार गर्दै श्रीलंकालाई १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

नेपालको लागि दिपेन्द्र ऐरीले सर्वाधिक ७२ रन बनाए। अविजित इनिंग खेल्ने क्रममा उनले ४४ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। पवन सर्राफले २२, बिनोद भण्डारी र ज्ञानेन्द्र मल्लले समान २१ रन तथा आरिफ शेखले १९ रन बनाए।

नेपालको सुरुवात राम्रो हुन सकेको थिएन। १ रन बनाएका पारस खड्का दोश्रो ओभरमा कभिस्का अन्जुलाबाट विकेटकिपरबाट क्याच आउट भए। त्यसपछि आरिफ शेख १९ तथा ज्ञानेन्द्र मल्ल २१ रन बनाएर आउट भए।

चौथो विकेटको लागि दिपेन्द्र ऐरी र बिनोद भण्डारीले अर्धशतकीय साझेदारी गरे। ५६ रनको साझेदारी गरे पछि बिनोद २१ रन बनाएर कामिन्दु मेन्डीसले बोल्ड गरे। पाँचौ विकेटका लागि दिपेन्द्रले पवनसंग ६२ रनको साझेदारी गरे।

श्रीलंकाको बलिंगमा कामिन्दु मेन्डिसले २ ( ४-०-३४-२ ) लिए। असिथा फर्नान्डो, कभिस्का अन्जुला र दुभिन्दु तिलकरत्नेले समान १/१ विकेट लिए।

२०७६ मंसिर १७, मंगलवार मा प्रकाशित