नम्बर वान गोलकिपर किरणको लक्ष्य, साफ च्याम्पियनसिप जित्ने

काठमाडौँ : हिमाली अनुहार, अनि माथि जमेको हिउँ जस्तो हाँसो, हाँसोमा सुहाउने नेपाली पन अनि फुटबलसंगको गहिरो सम्वन्ध। यतिकैमा सम्झन सक्छौँ नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङलाई।

धनकुटामा जन्मिएका २८ वर्षीय किरण हाल नेपाली फुटबल क्षेत्रका बलियो खम्बा हुन् । उनले खेलेका हरेक खेलहरुमा आफुले एउटा कमाल देखाएकै हुन्छन । जब विपक्षको आक्रमक प्रहार देखिन्छ तब किरण पनि बलियो बन्दै जान्छन्।

बच्चैदेखि फुटबलमा लगाव राख्ने उनले १४ वर्षको उमेरमा धनकुटामा भएको यु-१६ विद्यालयस्तरिय च्याम्पियनसिप खेल्दा उत्कृष्ट प्रदर्शन गरे । उक्त प्रदर्शनको आधारमा नै उनको नयाँ जीवनको शुरुवात भयो।

हातमा झोला अनि मनभरी ठुलो सपना बोकेर किरण काठमाडौँमा आए अनि एन्फा एकडेमिमा छिरे । नयाँ ठाउ, नयाँ सहर अनि बेग्लै परिवेश किरणका लागि अनौठो थियो ।

तर, एउटै कुराले उनलाई पछि हट्न दिएन । उनले प्रदर्शन गर्ने खेल अनि जोस जाँगर भने झनै बलियो बन्यो ।
किरणले अन्डर १७ र अन्डर १९ को प्रतिनिधित्व गर्दै नेपाली राष्ट्रिय टोलीमा खेले ।

उनले खेलेका यि सबै खेलमा उनको प्रदर्शन हेर्न लायक थियो । उनले अन्डर १९ को खेलमा देखाएको जादुमय खेलले नै उनलाई नेपाली राष्ट्रिय टोलीले स्वागत गरिसकेको थियो ।

किरणलाई बेग्लै अनुभुती हुन्छ, जब उनि नेपालको झन्डा अंकित लोगो अंकित जर्सी लगाएर मैदान प्रवेश गर्दछन् । उनि भन्छन ‘म कुनै क्लबबाट खैल्दा त्यति भाबुक हुँदैन, जति म मेरो देशको लागि खेल्न मैदान पुग्दछु । देशको लागि खेल्दा त, मेरो जिउ ज्यान नै देशका लागि समर्पित हुन्छ ।’

किरणको घर परिवारको आर्थिक स्थिती त्यती सन्तोषजनक थिएन, तर उनको क्षमताले गर्दा उनलाई राष्ट्रिय टोली सम्म पुग्न धेरै कष्ट भने गर्नु परेन ।

किरणलाई बारम्वार याद आईरहन्छ जब सानोमा खेल खेल्न जाँदा उनको आमाले ‘बाबु तिमिले जुन बाटो रोजी रहेका छौ त्यसमा धरै खतरा छ’ भनेको ।

तर, आज किरणको आमाले नै उलाई हौसला प्रदान गर्छिन्, उनलाई प्रोत्साहन दिन्छिन् । किरण भन्छन ‘आमा हो डर त लागि हाल्छ, तर मेरो आमा जस्तै हजारौ आमाका छोराहरुले देशका लागि मरि मेटेको कुरा सुनाएर आमाको ओठमा मुस्कान ल्याउने कोसिस गर्छु ।’

सानै देखि राष्ट्रिय टोलिबाट फुटबल खेल्ने चाहाना बोकेका किरणको लागि उपेन्द्र मान सिँह, रितेस थापा जस्ता होनाहार फुटबल खेलाडीहरु प्रेरणाका स्रोत बने। नेपाली फुटबल टोलीका गोलरक्षक उपेन्द्रमान उनका लागि मुख्य प्रेरणाका स्रोत हुन् ।

किरण उनको खेल हेर्थे जुन बेला उनि सानो थिए । उनको मनले आँटि सकेको थियो कि आफू पनि यस्तै बन्ने । आँटे पछि नहुने के नै छ आखिर ।

१२ वर्षको उमेरमा विद्यालय स्तरको खेलमा स्ट्राइकरको पोजिसनबाट खेल्ने किरण पछि गाउँका केहि दाईहरुको सल्लाहबाट गोल पोष्ट सम्हाल्न थाले ।

शरिरमा त केहि घाउ पनि भए, आफु भन्दा ठुला दाईहरुसंग खेल खेल्दा उनलाई कति पटक बलले रगत पनि बगायो । उनको लामो कदले गर्दा उनि पुर्ण रुपमा गोलरक्षकको रुपमा भुमिका निर्वाह गर्न थाले ।

किरणलाई एक ताका लाउरे बन्ने रहर पनि नपालाएको होईन तर, नेपाली फुटबलले उनलाई कुरिरहेको थियो । उनि १७ वर्षका थिए, एन्फा एकडेमिमा बस्थे, उनले ब्रिटिस आर्मिको लागि धरानबाट फारम पनि भरि सकेका थिए ।

ब्रिटिस आर्मी बन्ने उनको सपाना थिएन । त्यतिनै बेला उनि छनोट भएको अन्डर १७ को नेपाली राष्ट्रिय टोली सिंगापुर जाने तयारीमा थियो ।

किरण भन्छन्  “हरेक व्याक्तिको जीवनमा एक दुई चोटी राम्रो अवसर आउँछ, मेरो पनि आएको थियो, तर मलाइ लाग्यो देशका लागि खेलकुद क्षेत्रमा योगदान दिन जत्तिको मज्जा अरु के मा छ ?” अनि किरण काठमाडौँ फर्किए र नेपालका लागि फुटबल खेल्न सिंगापुर प्रस्थान गरे ।

सिंगापुरमा किरणले गरेको उच्च प्रदर्शन र उनले नेपाली राष्ट्रिय फुटबलमा एक छाप बसाली सकेका थिए । उनले अन्डर १८, अन्डर १९ को खेलमा राम्रो खेल पस्के र नेपाली सिनियर राष्ट्रिय टोलीका एक सफल गोलरक्षको भुमिकामा जोडिन पुगे ।

सन् २०१३ देखि नेपाली राष्ट्रिय टोलिको नियमित खेलाडिको रुपमा रहेका किरणले नेपाली फुटबल क्षेत्रमा निकै ठुलो छाप छोड्न सफल भएका छन् ।

उनले नेपाललाई पहिलो पटक एसियाली फुटबल महासंघले आयोजना गरेको प्रतियोगिताको उपाधि जिताउने क्रममा गोलरक्षक किरण चेम्जोङको महत्वपूर्ण भूमिका रहेको थियो ।

यस्तै लाओसविरुद्धको सेमिफाइनलमा तीन पेनाल्टी रोकेर नायक भएका उनी नेपाली टोलीका नम्बर एक गोलरक्षकका रूपमा स्थापित भएका छन् ।

माल्दिभ्सको क्लब टिसी स्पोर्ट्सबाट व्यवसायीक फुटब खेल्ने किरणले क्लबमा पनि उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । टिसी स्पोर्ट्स क्लबलाई सेख कमल अन्तराष्ट्रिय कप २०१७ र धिवेही लिग १८ जिताउन उनले निकै महत्वपुर्ण योगदान गरेका थिए ।

यो दुबै प्रतियोगितामा किरणले उत्कृष्ट गोलरक्षकको पुरस्कार जित्न सफल भए । किरणले २०७३ को पल्सर स्पोर्ट्स अवार्ड पनि जित्न सफल भएका थिए । उनले उक्त अवार्ड उत्कृष्ट वर्ष पुरूष खेलाडीमा पाएका हुन् । यो पुरस्कार भने नेपालमा दिएको हो ।

राष्ट्रिय टोलीका प्रमुख गोलरक्षकका रुपमा रहेका किरणले राष्ट्रिय टोलिलाइ एएफसी सोलिडारिटि कप २०१६ जिताउन महत्वपुर्ण योगदान पुर्‍याए । किरणले थ्री स्टार क्लबलाई नेपाल राष्ट्रिय लिग २०१५ जिताउन पनि सफल भए ।

असाध्धै रामाउँछन किरण जतिबेला आफ्ना सहकर्मिसंग भेट हुन्छ । किरण सबैसंग मिलेर बस्छन् । अनि उनि पनि सबैका मायालु बनेका छन् । राष्ट्रिय टोलीको प्रशिक्षणको समय होस या खेलको समयमा होस् ।

अव किरणको मुख्य लक्ष्य भनेको नेपाललाई साफ च्याम्पियन्ससिप जिताउने रहेको छ । नेपालको कहिले स्कोरीङ लाईन त, कहिले डिफेन्डीङ लाईनमा समस्या देखिने भएकोले यसलाई सुधार्न सके साफ च्याम्पियनसिप जित्न नेपालाइ केहि असहज नहुने उनलाई लाग्छ ।

किरणको एउटै मात्र लक्ष्य छ कि नेपाललाई एक पटक साफ च्याम्पियन सिप जिताउने । यसका लागि उनले लामो समय देखि मेहनत गरिरहेको बताउँछन् ।

सरकारसंग किरणको धेरै गुनासो छ, सरकारले खेलकुद क्षेत्रमा कम लगानि गरेको र राजनिति गरेको उनलाई दुःख लाग्छ । सरकारले फुटबलमा राम्रो लगानि गर्न सके साफ च्याम्पियनसिप पनि जित्न सकिने र विश्वकपमा समेत छनोट हुन सक्ने सम्मको आशा राख्न सकिने उनको भनाई छ ।

२०७५ पुष २३, सोमबार मा प्रकाशित