विश्वकप लिग-२ : स्कटल्याण्डको जितमा कोट्जर र ताहिर उत्कृस्ट, पीएनजीको दोश्रो हार

आईसीसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डमा जारि पहिलो त्रिकोणात्मक सिरिज अन्तर्गत तेश्रो खेलमा स्कटल्याण्डले पपुवा न्युगिनीलाई ४ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको छ।

स्कटल्याण्डले यस अघि ओमानसंग पहिलो खेलमा ८ विकेटको हार बेहोरेको थियो। पपुवा न्युगिनीको भने यो दोश्रो हार हो। यस अघि पपुवा न्यु गिनीलाई ओमानले ४ विकेटले पराजित गरेको थियो।

एबरडीनमा सम्पन्न खेलमा पपुवा न्यु गिनीले दिएको २०६ रनको लक्ष्य स्कटल्याण्डले ६ विकेट गुमाएर पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा ओपनर म्याथु क्रस ७ रन बनाएर आउट भएका थिए। त्यसपछि अर्का ओपनर तथा कप्तान कायल कोट्जरले कलुम म्याकलोयडसंग दोश्रो विकेटको लागि ९१ रनको साझेदारी गरे। म्याकलोयड ३६ रन बनाएर आउट भएपछि जर्ज मुनसे खाता नखोली आउट भए। कोट्जरले चौथो विकेटको लागि रिची बेरिंगटन ( २२ ) संग ५७ रनको साझेदारी गरे।

कोट्जर ३८ औं ओभरमा ९६ रन बनाएर आउट भए। उनले १२३ बलमा ९ चौका र २ छक्का प्रहार गरे। अन्तिममा मिचेल लिस्कले १९ रन बनाए।

पपुवा न्यु गिनीको बलिंगमा नोसैना पोकना र असद भालाले समान ३/३ विकेट लिए।

पपुवा न्युगिनीको ब्याटिंग 

यस अघि टस हारेर ब्याटिंग गरेको पपुवा न्यु गिनीले ५० ओभरमा ९ विकेट गुमाएर २०५ रन बनाएको थियो। उसको लागि ओपनर टिपी उराए सर्वाधिक ४६, किप्लिन डोरिगाले ३९, असद भालाले ३६ तथा चार्ल्स अमिनीले ३२ रन बनाए।

पहिलो विकेटको लागि उरा र जी टोकाले ६३ रनको साझेदारी गरेपनि त्यसपछि पपुवा न्यु गिनीले ठुलो साझेदारी गर्न सकेन।

स्कटल्याण्ड बलर हम्जा ताहिरले ४ तथा माइकल लिस्कले ३ विकेट लिए।

सिरिज अन्तर्गत अब चौथो खेल स्कटल्याण्ड र ओमान बीच आइतबार खेलिनेछ। विश्वकप लिग-२ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल फेब्रुवरिमा घरेलु मैदानमा अमेरिका र ओमान बिरुद्ध खेल्ने तालिका रहेको छ।

यस्तो छ २०२३ बिश्वकप छनौट हुने बाटो 

७ राष्ट्र सम्मेलित आईसीसी विश्व कप लिग-२ प्रतियोगिता जुलाई २०१९ देखि २०२१ सम्म संचालन हुनेछ। प्रतियोगितामा एउटा टिमले कुल ३६ खेल खेल्नेछ भने कुल १२६ खेल हुनेछ। ७ टिम मध्ये उत्कृस्ट ३ टिमले सन् २०२२ मा आयोजना हुने आईसीसी बिश्व कप छनौट प्रतियोगिता खेल्न पाउनेछ। तल्लो स्थानमा रहे ४ टिमले भने बिश्वकप छनौट प्ले-अफ खेल्न पाउनेछ जुन प्रतियोगितामा उत्कृस्ट २ भए बिश्वकप २०२२ बिश्वकप छनौट प्रतियोगिता खेल्न पाउनेछ।

२०२३ को एकदिवसीय बिश्वकपमा कुल १० टिमले मात्र सहभागिता जनाउने आईसीसीले घोषणा गरिसकेको छ।

१२ टेस्ट राष्ट्र सहित नेदरल्याण्डले सन् २०२० देखि २०२२ को बीचमा एक अर्का बीच कुल १५६ वटा खेल खेल्नेछन्। आईसीसी पुरुष विश्वकप सुपर लिग नामकरण गरिएको प्रतियोगिताबाट उत्कृस्ट ८ टिम सिधै २०२३ को एकदिवसीय बिश्वकप खेल्न छनौट हुनेछ।

बिश्वकप सुपर लिगबाट सिधै छनौट हुन असफल ५ टिमले २०२२ बिश्वकप छनौट प्रतियोगिता खेल्नेछ। २०२२ विश्वकप छनौटमा नेपाल सहभागी आईसीसी बिश्व कप लिग-२ बाट आएका ३ टिम तथा बिश्वकप छनौट प्लेअफबाट आएका २ टिम समेत गरि कुल १० टिम खेल्नेछन्। जसबाट उत्कृस्ट २ टिमले २०२३ को पुरुष एकदिवसीय विश्वकप खेल्नेछ।

नेपालको खेल तालिकामिति – टिमहरु – आयोजक राष्ट्र ) 

५-१२ फेब्रुवरी २०२० : नेपाल, ओमान र अमेरिका ( टियु मैदान , नेपाल )
२०-२७ अप्रिल २०२० : नेपाल, नामिबिया र स्कटल्याण्ड ( नामिबिया )
९-१६ जुन २०२० : पपुवा न्यु गिनी , युएई र नेपाल ( पपुवा न्यु गिनी )
जुन २०२० : स्कटल्याण्ड, नेपाल, नामिबिया ( स्कटल्याण्ड )
जनवरी २०२१ : ओमान, अमेरिका र नेपाल ( ओमान )
फेब्रुवरी २०२१ : नेपाल, युएई, पपुवा न्यु गिनी (नेपाल )
अगस्ट २०२१ : अमेरिका, नेपाल, ओमान ( अमेरिका )
नोभेम्बर २०२१ : नेपाल, नामिबिया र स्कटल्याण्ड ( नेपाल )
जनवरी २०२२ : युएई, पपुवा न्यु गिनी र नेपाल ( युएई )

२०७६ श्रावण ३२, शनिबार मा प्रकाशित