टि-१० लिग : कलन्दर्स बिरुद्ध सन्दिपले लिए लगातार २ विकेट

युएईमा जारि टि-१० लिग अन्तर्गत नेपाली लेग स्पिनर सन्दिप लामिछानेको टिम कर्नाटका टस्कर्सले कलन्दर्ससंग प्रतिस्पर्धा गरिरहेको छ।

लिगको पाँचौ खेल खेलीरहेको कर्नाटका टस हारेर पहिले बलिङ्ग गर्ने क्रममा रहेको छ। पहिले ब्याटिंग गर्ने क्रममा कलन्दर्सले १० ओभरमा ७ विकेट गुमाएर १३० रन बनाएको छ।

कलन्दर्सको लागि ओपनिङ्ग ब्याट्सम्यान टम बान्टनले सर्वाधिक ८० रन बनाए जुन क्रममा ९ चौका र ६ छक्का प्रहार गरे। लौरी इभान्सले १७, फिलिप साल्टले ११ तथा सुल्तान एह्मदले अविजित १३ रन बनाए। कर्नाटकाको बलिङ्गमा एहमद राजा र सन्दिप लामिछाने २/२ विकेट लिए।

लिग अंकतालिकामा कर्नाटका ४ खेलमा मात्र १ जितका साथ सातौँ स्थानमा रहेकोले आजको खेलमा जित अत्यावस्यक रहेको छ।

अंकतालिका

सन्दिपको प्रदर्शन 

सन्दिपको पहिलो ओभर – २२ रन ( ४ , ६ , ६ , १ , १ , ४ )

पाँचौ ओभरमा पहिलो ओभर बलिङ्ग गर्न आएका सन्दिपलाई टम बान्टने सुरुवातमै चौका प्रहार गर्दै स्वागत गरे। मिड विकेटमा चौकाको साथ ओभरको सुरुवात गरेका बान्ट त्यतिमै रोकिएनन् त्यसपछि लगातार २ छक्का पनि प्रहार गरे। दोश्रो बलमा अघि बढ्दै लंग अनमा छक्का प्रहार गरेका बान्टनले तेश्रो बलमा काउ कर्नर तिर छक्का प्रहार गरे। सोहि बलमा बान्टनले अर्धशतक समेत पुरा गरे। १ चौका र २ छक्का पछि चौथो र पाँचौ बलमा १/१ रन दिएका सन्दिपलाई पुनः अन्तिम बलमा बान्टनले चौका प्रहार गरे। ओभरमा सन्दिपले २२ रन खर्चिए र विकेट विहिन रहे।

सदिपको दोश्रो ओभर – ( वाइड , १ , २ , ४ , डट , विकेट , विकेट )

पहिलो ओभरमा महँगो सावित भएका सन्दिपले दोश्रो ओभरमा भने राम्रो कमब्याक गरे। पहिलो बल वाइडबाट सुरु गरेका उनले त्यसपछि १ र २ रन दिए। त्यसपछिको बलमा बान्टनले प्रहार गरेको सट भित्रि किनारा लागेर चौका भयो।

पहिलो १० बलमा ३० रन खर्चेका सन्दिपको स्पेल महँगो र विकेट विहिन हुने दिशामा थियो। तर सन्दिपले पाँचौ बलमा खतरनाक ब्याट्सम्यान बान्टनलाई गुगलीमा एलबिडब्लु धरापमा पारे। २८ बलमा बान्टनले ६ चक्का र ९ चौका प्रहार गरिसकेका थिए। लगत्तै बलमा नयाँ ब्याट्सम्यान कोहलर काडमोरलाई सन्दिपले बोल्ड गरे। सन्दिपको गुगली शरीरमा लाग्दै स्टम्पमा गएर लागेको थियो।

२ ओभरमा सन्दिपले ३० रन खर्चेर २ विकेट लिंदै स्पेल पुरा गरे।

टि-१० लिग अन्तर्गत सन्दिपले हालसम्म खेलेको ५ खेलमा ६ विकेट लिईसकेका छन्। यस क्रममा उनले पहिलो खेलमा दिल्ली बुल्स बिरुद्ध १९ रन खर्चेर १ विकेट, बाङ्ग्ला टाइगर्स बिरुद्ध ९ रन खर्चेर २ विकेट, डेक्कन ग्ल्याडीएटर्स बिरुद्ध ३५ रन खर्च गर्दा विकेटविहिन तथा मराठा अरबीयन्स बिरुद्ध २५ रन खर्चेर १ विकेट लिएका थिए।

प्रतियोगिता अन्तर्गत अर्का नेपाली खेलाडी पारस खड्का आबद्ध टिम आबु धाबीले आगामी खेल शुक्रबार सन्दिपको टिम कर्नाटका बिरुद्ध खेल्नेछ। आबु धाबीले पारस खड्कालाई पहिलो २ खेलमा मौका दिएपछि त्यसपछि लगातार ३ खेलमा बेञ्चमा राखेको छ। चौथो खेलमा पारसले मौका पाए सन्दिप लामिछाने भर्सेस पारस खड्काको खेल हेर्ने नेपाल फ्यानको चाहना पुरा हुनेछ।

( फिचर फोटो – दनेसनल )

२०७६ मंसिर ५, बिहीबार मा प्रकाशित