“१०० पुर्याएर अझै आक्रामक खेल्न चाहन्थेँ, किनभने अघिल्ला खेलमा डिफेन्ड गर्न सकेका थिएनौं।” ज्ञानेन्द्र मल्ल

पोखरा। दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग(पीपीएल) अन्तर्गत चौँथो दिनको पहिलो खेलमा काठमाडाँै गोल्डेन्सले पहिलो जीत दर्ता गर्यो । पोखरा क्रिकेट रङ्गशालामा भएको खेलमा काठमाडौँले धनगढी ब्लुजलाई १०६ रनको विशाल अन्तरले पराजित गर्न सफल रह्यो । अघिल्ला दुई खेलमा पराजित भएको काठमाडाँलाई आज जित्नै पर्ने दवाव रहेको थियो । जित्नै पर्ने दवावमा रहेको काठमाडौँका लागि आज कप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट योगदान दिन सफल रहे।

भर्खरै नेपाली पुरुष क्रिकेट टोलीको कप्तान चुनिएका मल्लले कमजोर टोली विरुद्द राम्रो गर्ने तर बलियो टोलीसँग भने उल्लेख्य प्रदर्शन गर्न नसकेको भन्ने समर्थकको बुझाइलाई मल्लले जोडदार जवाफ दिन सफल रहे। खेलमा उनले ३८ बलमा १०० रन प्रहार गरे। उनको शतकीय पारीमा ८ चौका र ९ छक्का समावेश रहेको थियो।

मल्लको ब्याटबाट २०१९ मा निस्किएको तेस्रो शतक समेत रहेको थियो । यस भन्दा अघाडि उनले प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगितामा विभागिय टोली एपिएफ विरुद्द शतक प्रहार गरेका थिए । साथै भर्खरै मात्र नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत पुरुष क्रिकेटमा मल्लले भुटान विरुद्द शतकीय पारी खेलेका थिए।

Gyanendra Malla

आजको खेलमा जित्नै पर्ने दवावका कारण आफु र आफ्ना अरु ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सफल रहेको मल्लले सुनाए। अमित श्रेष्ठ र जयकिसन कोल्सावाले उत्कृष्ट सुरुवात दिलाएको र छोटो बाउन्ड्रीका कारण धेरै रन प्रहार गर्ने जिम्मा आफ्नो काँधमा आएको मल्ले बताए।

“अमित र कोल्सावाले राम्रो सुरुवात दिलाएका थिए, मैले मुमेन्टम क्यारी गर्नुपथ्र्यो” मल्ले भने “छोट्याइएको खेल र सानो बाउन्ड्रीका कारण जतिसक्दो धेरै रन ल्याउनुथ्यो ।”

यसअघिका दुई खेलमा आफु र आफ्नो टोलीले पिच बुझ्दै खेल्दा आक्रामक खेल्न नसकेको कप्तान मल्लले बताए। “अघिल्ला खेलमा पिच बुझेर खेल्नु पथ्र्यो, दवाव थिएन, त्यसले गर्दा हामी चुक्न पुग्यौँ ।” मल्ले सुनाए,“आज जित्न पर्ने दवाव थियो, पिच बुझ्नु भन्दा पनि धेरै रन ल्याउनका लागि आक्रामक खेल्यौं”

Gyanendra Malla

आफु व्यक्तिगत ९९ रनमा पुगेपछि साझेदारी गरिरहेका कोल्सावाले १ रन लिएर अरु सोच्नका लागि आफुलाई सुझाव दिएको मल्ले बताए । “९९ मा पुगेपछि कोल्सावाले १ रन लिएर अरु सोच्न मलाई सुझाव दिए ।” मल्ल बताउँछन्,“म १०० पुर्याएर अझै आक्रामक खेल्न चाहन्थेँ, किनभने हामीले अघिल्ला खेलमा डिफेन्ड गर्न सकेका थिएनौं।”

आजको खेलमा पिचले त्यति धेरै प्रभाव नपारेको मल्लले बताए । आज ओपनर गौरभ तोमर शुन्यमै आउट भएपछि अमित श्रेष्ठले प्रदान गरेको मुमेन्टमले गर्दा नै आफुहरुले राम्रो प्रदर्शन गर्न सकेको मल्लले सुनाए । अमितले मुमेन्टम दिएको र उनको विरुद्ध नै बलरहरु दवावमा परेको र त्यसको फाइदा आफुले उठाएको मल्लले बताए।

“अमितले दिएको मुमेन्टमले बलरहरु दवावमा थिए, मैले त्यसैको फाइदा उठाएँ ।” मल्ल भन्छन्,“बल ब्याटमा लागिरहेको थियो, पिचको बारेमा भन्दा पनि ठुला शटकै बारेमा सोचिरहेको थिएँ ।”

२०७६ पुष २, बुधबार मा प्रकाशित