टेस्ट र टि-२० सिरिज खेल्न पाकिस्तान आगामी साता इंग्ल्यान्ड जाने

इंग्ल्यान्डमा टेस्ट तथा टि-२० अन्तर्राष्ट्रिय सिरिज खेल्न पाकिस्तान क्रिकेट टिम जुन २८ तारिखमा इंग्ल्यान्ड प्रस्थान गर्ने भएको छ। दुइ देश बीच तिन वटा टेस्ट र त्यतिनै टि-२० अन्तर्राष्ट्रिय खेलिने तालिका रहेको छ।

पाकिस्तान क्रिकेट बोर्डका अनुसार इंग्ल्यान्ड पुगे पछि पाकिस्तान टिम डर्बीसायरमा १४ दिन क्वारेन्टाइनमा बस्नेछ। कोरोना बिरुद्ध विशेष सावधानी अपनाउदै त्यस दौरान टिमले अभ्यास भने गर्न पाउनेछ।

भ्रमणको लागि पाकिस्तानले २९ सदस्यीय टिमको घोषणा गरिसकेको छ। भ्रमण दौरान खेलाडीहरु संक्रमित भएको खण्डमा प्रतिस्थापन गर्नको लागि खेलाडी संख्या धेरै राखिएको हो।

कोरोनाकै कारण मार्च १७ मा पाकिस्तान सुपर लिगको खेलहरु रद्द भए पछि पाकिस्तानले प्रतिस्पर्धात्मक क्रिकेट खेलेको छैन।

पाकिस्तान बोर्डले खेलाडीहरुले इंग्ल्यान्डमा अभ्यासको दौरान आफ्नै टिमको खेलाडी बीच अभ्यास खेल पनि खेल्ने बताएको छ। इंग्ल्यान्डको घरेलु क्रिकेट सुरु नभएको हुनाले स्थानीय खेलाडी अभ्यासको लागि उपलब्ध नहुने भएपछि आफु आफु बीच अभ्यास खेलिने बोर्डले बताएको छ।

पाकिस्तानसंग सिरीज खेल्नु अघि इंग्ल्यान्डले वेस्टइन्डिज बिरुद्ध तिन वटा टेस्टको सिरिज जुलाईमा खेल्नेछ। वेस्टइन्डिज टिम इंग्ल्यान्ड पुगीसकेको छ।

शोयब मलिक ढिला पुग्ने 

टि-२० टिममा मात्र रहेका शोयब मलिक २४ जुलाईमा मात्र टिमसंग जोडिने भएका छन्। आफ्नो परिवारसंग ५ महिना देखि भेट्न नपाएका मलिकका पत्नी टेनिस स्टार सानिया मिर्जा भारतमा रहेका कारण दुइ बीच भेट नभएको हो। यातायात प्रतिवन्ध खुल्ने सम्भावना रहेको हुँदा मलिकले परिवारलाई भेट्ने विशेष छुट पाएका हुन्। इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डसंग पाकिस्तान बोर्डले मलिकको लागि अनुमति लिईसकेको छ।

२०७७ असार ६, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment