इंग्ल्यान्डको जितमा बेयरस्टो उत्कृस्ट

इंग्ल्यान्डको दक्षिण अफ्रीका भ्रमण अन्तर्गत ३ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो टि-२० मा भ्रमण टोलि ५ विकेटले विजयी भएको छ।

केपटाउन स्थित सहारा पार्क न्युल्यान्ड्समा सम्पन्न खेलमा दक्षिण अफ्रीकाले दिएको १८० रनको लक्ष्य इंग्ल्यान्डले ४ बल बाँकी छदै ५ विकेट गुमाएर पुरा गरेको हो।

खराब सुरुवात गरेको इंग्ल्यान्डले ३४ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो। ओपनरद्वय जेसन रोय खाता नखोली र जोस बटलर ७ रन बनाएर तथा दविड मलान १९ रन बनाएर आउट भए।

त्यसपछि चौथो नम्बरमा ब्याटिंग गरेका जोनी बेयरस्टोले अविजित इनिंग खेल्दै टिमलाई जितसम्म पुर्याए। यस क्रममा बेयरस्टोले बेन स्टोक्ससंग चौथो विकेटको लागि ८५ रनको महत्वपूर्ण साझेदारी गरे। स्टोक्स ३७ रन बनाएर आउट भएपछि बेयरस्टोले कप्तान मोर्गनसंग ४० रनको तथा छैठौं विकेटको लागि स्याम करनसंग अविजित २४ रनको साझेदारी गरे। मोर्गनले १२ तथा करनले अविजित ७ रन बनाए।

प्लेयर अफ द म्याच चुनिएका बेयरस्टोले मात्र ४८ बलमा ९ चौका र ४ छक्का मद्दतले अविजित ८६ रन बनाए। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बेयरस्टोको यो व्यक्तिगत उच्च स्कोर हो भने समग्रमा छैठौं अर्धशतक हो।

दक्षिण फ्रिकाको बलिंगमा जर्ज लिन्डे र लुंगी एनगीडीले समान २ विकेट तथा तब्रेज शाम्सीले १ विकेट लिए।


दक्षिण अफ्रीकाको इनिंग 

यस अघि टस हारेर ब्याटिंग गर्ने क्रममा दक्षिण अफ्रीकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७९ रन बनाएको थियो।

दक्षिण अफ्रीकाको लागि फाफ डु प्लेसीले सर्वाधिक ५८ रन बनाए जुन क्रममा ४० बलमा ४ चौका र २ छक्का प्रहार गरे। भान डर डुसेनले ३७, क्विन्टन डीककले ३० तथा हेनरिक् क्लासेनले २० रन बनाए।

ओपनर तेम्बा बभुमा पहिलो ओभरमा आउट भएपछि डु प्लेसी र डीककले दोश्रो विकेटको लागि ७७ रनको साझेदारी गरेका थिए।

इंग्ल्यान्डको बलिंगमा स्याम करनले २८ रन खर्चेर सर्वाधिक ३ विकेट लिए भने जोफ्रा आर्चर, टम करन र क्रिस जोर्डनले समान १ विकेट लिए।

सिरिज अन्तर्गत दोश्रो टि-२० नोभेम्बर २९ तथा तेश्रो टि-२० डिसेम्बर १ तारिखमा खेलिनेछ। त्यसपछि दुइ टिम बीच ३ वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज डिसेम्बर ४, ६ र ९ तारिखमा खेलिनेछ।

यो पनि पढ्नुस :- 

एलपीएल : फर्नान्डोले शानदार ब्याटिंग गर्दा जाफ्नाको जित

पोलार्डको विस्फोटक ब्याटिंगका बाबजुद वेस्टइन्डिज पराजित

अस्ट्रेलियासंग पहिलो वानडेमा हारपछि भारतीय कप्तान कोहलीले के भने

 

२०७७ मंसिर १३, शनिबार मा प्रकाशित