फिलिप्सले कीर्तिमानी शतक बनाउदा, १ खेल अगावै न्युजिल्यान्डलाई सिरिज

वेस्ट इन्डिजको न्युजिल्यान्ड भ्रमण अन्तर्गत ३ खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज एक खेल अगावै घरेलु टोलिले २-० ले जितेको छ। आइतबार सम्पन्न दोस्रो खेलमा इन्डिजलाई ७२ रनले पराजित गर्दै न्युजिल्याण्डले सिरिज आफ्नो नाम गरेको हो। यसअघि शुक्रबार सम्पन्न पहिलो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पार्दै सिरिजमा अग्रता लिएको थियो।

बे ओभल क्रिकेट स्टेडियममा न्युजिल्याण्डले दिएको २३९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै मात्र १६६ रन बनाउन सक्यो।

विशाल लक्ष्य पछ्याएको इन्डिजले राम्रो सुरुवात गर्न सकेन। ओपनर ब्रेन्डन किंगलाई शुन्यको व्यक्तिगत स्कोरमा जेमिसनले बोल्ड आउट गर्दै घरेलु टोलि न्युजिल्याण्डलाई उत्कृष्ट सुरुवात दिलाएका थिए। आन्द्रे फ्लेचरले २०, शिमरोन हेटमायरले २५, मायर्सले २० र कप्तान कायरन पोलार्डले २८ रन बनाए। अन्तिममा किमो पौलले १८ बलमा अविजित २६ रन बनाउदै जितको अन्तर घटाएका थिए।

न्युजिल्याण्डको बलिंगतर्फ जेमिसन (४-०-१५-२) र मिचेल सान्टनरले (३-०-४१-२) समान २-२ विकेट लिए। यस्तै इश सोडी, टिम साउथी, लकी फर्गुसन र जिमी निशमले समान १-१ विकेट हात पारे।

फिलिप्सको कीर्तिमानी शतक, साझेदारीको नयाँ विश्वकीर्तिमान

टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै २३९ रनको विशाल योगफल प्रस्तुत गरेको थियो। न्युजिल्याण्डले टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा बनाएको तेस्रो सर्वाधिक योगफल हो। यसअघि न्युजिल्याण्डले २०१८ मा वेस्ट इन्डिज विरुद्धनै सर्वाधिक २४४ रनको योगफल तयार पारेको थियो।

पहिलो अन्तर्राष्ट्रिय शतक बनाउने क्रममा ग्लेन फिलिप्सले ५१ बलमा १०८ रनको विस्फोटक पारि खेले

ओपनरद्वय मार्टिन गप्टिल र साइफर्टले पहिलो विकेटको लागि ४९ रनको साझेदारी गर्दै न्युजिल्याण्डलाई राम्रो सुरुवात दिलाएका थिए। गप्टिलले ३४ तथा साइफर्टले १८ रन बनाए।

कनवे र ग्लेन फिलिप्सले तेस्रो विकेटको लागि १८४ रनको साझेदारी गर्दै न्युजिल्याण्डलाई विशाल योगफलतर्फ डोर्याए। टि-ट्वान्टी अन्तराष्ट्रियमा तेस्रो विकेटको लागि यो सर्वाधिक रनको साझेदारी हो। यसअघि २०१९ मा न्युजिल्याण्ड विरुद्ध डेविड मलान र ओएन मोर्गानले तेस्रो विकेटका लागि सर्वाधिक १८२ रनको साझेदारी गरेका थिए।

फिलिप्स इनिंगको अन्तिम बलमा आउट भएका थिए। पहिलो अन्तर्राष्ट्रिय शतक बनाउने क्रममा ग्लेन फिलिप्सले ५१ बलमा १०८ रनको विस्फोटक पारि खेले। उनले १० चौका र ८ छक्का प्रहार गरे। ३७ बलको सामना गरेका कनवेले अविजित ६५ रन बनाए।

फिलिप्सले ४६ बलमा शतक पुरा गरेका थिए जुन टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा न्युजिल्यान्डका खेलाडीले बनाएको सबैभन्दा छिटो शतक हो। यस अघि कोलिन मुनरोले २०१८ मा वेस्टइन्डिज बिरुद्ध ४७ बलमा शतक बनाएका थिए। टि-२० अन्तर्राष्ट्रियमा न्युजिल्यान्ड ब्याट्सम्यानले बनाएको यो मात्र आठौँ शतक हो।

वेस्ट इन्डिजको बलिंगतर्फ ओसेन थोमस (४-०-४४-१) र फाबियन एलियनले (३-०-३५-१) समान १-१ विकेट लिए भने अन्य बलर विकेटविहिन रहे।

सिरिज अन्तर्गत तेस्रो तथा अन्तिम खेल भोलि (सोमबार) खेलिनेछ। टि-२० सिरिज पछि दुइ देश बीच २ वटा टेस्टको सिरिज डिसेम्बर ३ देखि सुरु हुनेछ।

यो पनि पढ्नुस :- 

एलपीएलमा आन्द्रे रसेलको १४ बलमै अर्धशतक

ज्ञानेन्द्र, रोहित र दिपेन्द्रले आज देखि प्रशिक्षण थाल्ने, सहायक प्रशिक्षकमा कटुवाल नियुक्त

इंग्ल्यान्डको जितमा बेयरस्टो उत्कृस्ट

२०७७ मंसिर १४, आईतवार मा प्रकाशित