बिग ब्यास लिग : मेलबर्न स्टार्सद्वारा ब्रिसबेन हिट ६ विकेटले पराजित

अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत शुक्रबार सम्पन्न दोस्रो खेलमा ब्रिसबेन हिटमाथि ६ विकेटको सहज जित दर्ता गर्दै ग्लेन म्याक्सवेलको कप्तानीमा रहेको मेलबर्न स्टार्सले विजयी सुरुवात गरेको छ।

क्यानवेरा स्थित मानुका ओभल क्रिकेट स्टेडियममा समपन्न खेलमा १२६ रनको झिनो लक्ष्य पछ्याएको स्टार्सले १७.१ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। स्टार्सको जितमा हिल्टन कार्टराइट र ग्लेन म्याक्सवेलले समान सर्वाधिक ४६ रन बनाए।

झिनो लक्ष्य पछ्याएको स्टार्सले इनिंगको दोस्रो बलमै मार्कस स्टोइनिसलाई शुन्यको स्कोरमा गुमायो। उनि जावियर बार्लेटको बलिंगमा पिएरसनको हातबाट समातिए। ओपनरद्वर आन्द्रे फ्लेचर ११ बलमा १२ रन बनाएर म्याथुई कुहेनमानको बलिंगमा कट एण्ड बोल्ड आउट भए। सातौँ ओभरमा बेन डंकलाई ज्याक वुडले व्यक्तिगत ६ रनको स्कोरमा आउट पार्दा स्टार्स दबाबमा थियो। खराब सुरुवात गरेको स्टार्सले ६.१ ओभरमा ३ विकेट गुमाएर मात्र ३४ रन बटुलेको थियो।

दबाब स्थितिमा चौथौं विकेटको लागि कार्टराइट र म्याक्सवेलले ७५ रनको महत्वपूर्ण साझेदारी गर्दै स्टार्सलाई जित दिलाए। विस्फोटक ब्याटिंग गरेका म्याक्सवेलले २६ बलमा समान ३ छक्का र ३ चौकाको मद्दतमा ४६ रन बनाए। उनि ज्याक वुडले गरेको १५ औं ओभरको चौथौ बलमा बोल्ड भए। कार्टराइटले भने ४२ बलमा ४६ रनको अविजित पारि खेले जुनक्रममा ४ चौका र १ छक्का हिर्काए। निक लार्किनले अन्तिममा समान १ चौका र १ छक्काको सहयोगमा  १२ बलमा अविजित १६ रन बनाए। उनले मिलेन्कोले गरेको १८ औं ओभरको पहिलो बलमा चौका हिर्काउदै विजयी रन प्रहार गरे।

हिटको बलिंगतर्फ ज्याक वुडले (३-०-२८-२) सरवाधिक २ विकेट लिए। यस्तै, जावियर बार्लेट र म्याथुई कुहेनमानले समान १-१ विकेट लिए।

यसअघि क्यानवेरा स्थित मानुका ओभल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको हिटले १९.५ ओभरमा सम्पूर्ण विकेट गुमाउंदै मात्र १२५ रन बनाएको थियो। हिटलाई सस्तोमा समेट्ने क्रममा स्टार्सका लागि नाथन कुल्टर-नाइलले १० रन खर्चिएर ४ विकेट लिए।

ओपनरद्वय म्याक्स ब्रायन्ट र हिज्लेटले पहिलो विकेटको लागि १९ रनको साझेदारी गरे। ब्रायन्टले २० बलमा २० रन तथा हिज्लेटले १३ बलमा १४ रन बनाए। सुस्त सुरुवात गरेको हिटले पावरप्लेमा १ विकेट गुमाएर ३२ रन बनाएको थियो। त्यसपछि, लगातार रुपमा विकेट गुमाएको हिट सस्तोमा समेटियो। तेस्रो नम्बरमा ब्याटिंग गर्न आएका कप्तान क्रिस लिन २० बलमा २० रन बनाएर कुल्टर-नाइलको बलिंगमा आउट भए। डानियल लरेन्स नवौं ओभरमा ८ रन बनाएर रन आउट भए। टम कुपर र पिएरसनले पाचौं विकेटको लागि ३५ रनको साझेदारी गर्दै हिटको इनिंग सम्हाले। कुपरले २६ तथा पिएरसनले १८ रन बनाए। ज्याक वुड र जावियर बार्लेट व्यक्तिगत २ रनको स्कोरमा रन आउट भए।

नाथन कुल्टर-नाइल खेलको उत्कृष्ट खेलाडी घोषित भए जसले ३.५ ओभरमा १० रन खर्चिएर ४ विकेट लिएका थिए।

स्टार्सको बलिंगतर्फ नाथन कुल्टर-नाइलले सर्वाधिक ४ विकेट लिए। यस्तै, दिलभर हुसेनले २ तथा हिन्क्लिफेले १ विकेट लिए।

यो पनि पढ्नुस :- 

रोहित शर्माको लागि आजको दिन अहम

रैना घरेलु क्रिकेटमा फर्कने

बिगब्यास : सन्दिप आबद्ध होबार्टको विजयी सुरुवात

२०७७ मंसिर २६, शुक्रबार मा प्रकाशित