पोग्बा र फर्नान्डेस चम्किदा युनाइटेडको फराकिलो जित

२०२१/२२ सिजनको इंग्लिस प्रिमियर लिग अन्तर्गत आफ्नो पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेडमाथि ५-१ को फराकिलो जित दर्ता गर्दै लिगमा विजयी सुरुवात गरेको छ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा युनाइटेडका लागि पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेसले ह्याट्रिक तथा फ्रेन्च मिडफिल्डर पल पोग्बाले चार असिस्ट गरे। यस्तै,  मासन ग्रीनवुड र फ्रेडले समान एक-एक गोल थपे। लिड्सका लुके एयलिङले फर्काएको एकमात्र गोल केवल सान्त्वनामा सिमित बन्यो।

खेलको ३० औं मिनेटमा फर्नान्डेसले पोग्बाको थ्रु पासमा गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाए। पहिलो हाफमा १-० को अग्रता बनाएको युनाइटेडले दोस्रो हाफमा ४ गोल थप्यो। दोस्रो हाफको सुरुवाती १९ मिनेटमा ५ गोल सम्भव भएको थियो।

४९ औं मिनेटमा लुके एयलिङले सानदार लंग रेन्ज गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। त्यसको ३ मिनेट नबित्दै ग्रीनवुडले गोल गर्दै युनाइटेडलाई पुनः अग्रता दिलाए। त्यसको दुई मिनेटपछि पोग्बाको पासलाई नियन्त्रणमा लिंदै फर्नान्डेसले गोल गरे।

६० औं मिनेटमा भिक्टर लिन्डेलफको थ्रु पासको सदुपयोग गर्दै फर्नान्डेसले आफ्नो ह्याट्रिक पुरा गरे। त्यसको ८ मिनेटपछि पोग्बाको पासमा फ्रेडले गोल गर्दै युनाइटेडलाई ५-१ को फराकिलो जित दिलाए।

जितसंगै युनाइटेडले ३ अंक जोडेको छ। २०२१/२२ सिजनको इंग्लिस प्रिमियर हिजो आर्सनल र ब्रेन्टफर्डबिचको खेलबाट सुरु भएको थियो।

२०७८ श्रावण ३०, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment