प्रिमियर लिग डेब्युमा गोल गरेपछि भावुक बनेका ट्रिभो चलोवाह

चेल्सीका २२ वर्षीय युवा डिफेन्डर ट्रिभो चलोवाहले गए राति सम्पन्न क्रिस्टल प्यालेसविरुद्धको खेलमा सानदार गोल गरेपछि आफुले विश्वास गर्न नसकेको प्रतिक्रिया दिएका छन्। ८ वर्षको उमेरदेखि चेल्सीमा रहेका उनले प्रि-सिजन खेलमा प्रशिक्षक थोमस टुचेललाई प्रभावित पार्दै हिजो लिगमा डेब्यु गर्ने मौका पाएका थिए। चेल्सीले ३-० को सहज जित निकाल्दा उनले टिमको तेस्रो गोल गरेका थिए।

“गोल गरेपछि के गर्ने मैले केहि सोच्न सकिन। म आफ्नो घुँडामा टेके र रोए। म र मेरो परिवारको लागि यो गजबको क्षण हो।”, हिजो प्यालेसविरुद्धको खेल पश्चात् बिबिसीसंगको कुराकानीमा उनले बताए। “कहिले गोल भयो मैले पत्तै पाइन। दर्शकहरु चिच्याउन थालेपछि मैले गोल भएको महशुस गरे। यो निकै अविस्मरणीय पल थियो।”

करिव २५ यार्ड टाढाबाट लंग रेन्ज गोल गरेका उनि गोल गरेपछि चकित भए, हातले मुख छोपे अनि घुंडा टेके। त्यसपछि उनका टिममेट्सले घेरेर खुशियाली मनाए तर, चलोवाहले भने अझै आश्चर्यचकित नै थिए, विना कुनै एक्सप्रेसनको।

“खुशियाली मनाउन कुनै शब्द पाइरहेको थिइन।” उनले भने। “यो साता मेरो लागि निकै उत्कृष्ट भयो। स्टामफोर्ड ब्रिजमा आएर परिवारसंग थुप्रै खेलहरु हेरे, बल ब्वाई समेत थिए र अन्ततः आज यहि खेल्न पाउनु मेरो लागि उत्कृष्ट क्षण थियो।”

ब्राजिलियन भेट्रान डिफेन्डर थिएगो सिल्भा र फ्रेन्च डिफेन्डर कर्ट जौमाको अगाडी उनले प्यालेसविरुद्ध मौका पाएका थिए। चलोवाहले गत सिजन लोनामा लोरियन्टबाट फ्रेन्च लिग ‘लिग १’ खेलेका थिए।

“मैले धेरे कुर्नु पर्यो तर, कडा मिहेनेत, धैर्यता र आफ्नो खेलमा फोकस गर्नु निकै महत्वपूर्ण थियो”, उनले भने। “यो काफी छैन, मैले योभन्दा धेरै गर्नुछ।”

२०७८ श्रावण ३१, आईतवार मा प्रकाशित