चेल्सीका नयाँ फरवार्ड रोमेलु लुकाकुले आर्सनविरुद्ध खेल्न सक्ने

इंग्लिस क्लब चेल्सीका नयाँ फरवार्ड रोमेलु लुकाकुले आइतबार आर्सनविरुद्धको नर्थ वेस्ट लण्डन डर्वी खेल्न सक्ने सम्भावना प्रवल रहेको छ।

बेल्जियमका फरवार्ड लुकाकु यसै सिजन ९७.५ मिलियन पाउण्डमा इटालियन क्लब इन्टर मिलानबाट १० वर्षपछि पुनः चेल्सी फर्किएका हुन्।

लुकाकु आफ्नो क्वारेन्टिन अवधि सकाएर मंगलबार टिमसंग प्रशिक्षणमा सामेल हुनेछन्।

उनि २०११ देखि २०१४ सम्म चेल्सीमै आवद्ध थिए। उक्त ३ वर्षे करियरमा उनको प्रदर्शन राम्रो रहन सकेको थिएन।  त्यसपछि मिलानमा अनुबन्ध हुनु अगाडी उनले इंग्लिस क्लब एभर्टन र म्यानचेस्टर युनाइटेडबाट खेले।

लुकाकु २०१९ अगष्टमा युनाइटेडबाट इटालियन क्लब इन्टर मिलानमा अनुबन्धित भएका थिए। २ सिजन त्यहाँ बिताएका उनले सानदार प्रदर्शन गरे। गत सिजन मिलानलाई ११ वर्षपछि लिग जिताउन २४ गोल गर्दै महत्वपूर्ण योगदान दिएका थिए।

लुकाकुले युरो २०२० मा ५ खेल खेल्दा ४ गोल गरेका थिए। उनको आगमनसंगै थोमस टुचेलको प्रशिक्षणमा रहेको चेल्सी प्रिमियर लिगको उपाधी जित्ने योजनामा हुनेछ।

गत सिजन फरवार्ड टिमो वेर्नरको प्रदर्शन निराशाजनक रहेको कारण क्लब नयाँ फरवार्डलाई अनुबन्ध गर्न इच्छुक थियो। चेल्सीका युवा फरवार्ड ट्यामी अब्राहम पनि यसै सिजन चेल्सीबाट रोमामा अनुबन्ध भएका छन्। चेल्सीले नर्वेजियन युवा फरवार्ड एर्लिङ हालान्डलाई अनुबन्ध गर्न पहल गरेको बुझिएको थियो।

चेल्सीले २०२१/२२ सिजनको इंग्लिस प्रिमियर लिग अन्तर्गत आफ्नो पहिलो खेलमा क्रिस्टल प्यालेसलाई ३-० ले पराजित गर्दै विजयी सुरुवात गरेको थियो। चेल्सीले गत सिजन च्याम्पियन्स लिग र युरोपेली सुपर कप जितेको थियो।

२०७८ श्रावण ३२, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment