पल पोग्बा अर्को सिजन रियल म्याड्रिड जान सक्ने

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका २८ वर्षीय मिडफिल्डर पल पोग्बा अर्को सिजन रियल म्याड्रिड जान सक्ने सम्भावना प्रवल रहेको छ । अर्को सिजन उनि युनाइटेडसँगको सम्झौता अवधि सकिएर फ्रि एजेन्ट बन्नेछन् । पोग्बा क्लबसँग सम्झौता नवीकरण गर्ने सोचमा नरहेको बुझिएको छ ।

डेली मेलको अनुसार उनले जुन ३० मा युनाइटेडसँगको सम्झौता अवधि सकिएपछि स्पेनिस क्लब म्याड्रिड जाने योजना बनाइसकेका छन् । १३ पटकको च्याम्पियन्स लिग विजेता म्याड्रिड प्रशिक्षक जिनेदान जिदान हुँदै पोग्बालाई अनुबन्ध गर्न इच्छुक थियो ।

कोरोना महामारीका कारण ला लिगाले यो समर ट्रान्सफर विन्डोमा वित्तिय प्रतिबन्ध लगाएपछि क्लबहरुले खेलाडी अनुबन्धको लागि मोटो रकम खर्चन सकेका छैनन् । त्यसकारण क्लबहरुले अर्को वर्षको ट्रान्सफर विन्डोमा मोटो रकम खर्च गर्न सक्ने अनुमान गरिएको छ ।

विश्व कप विजेता पोग्बाले २०२१/२२ सिजनको इंग्लिस प्रिमियर लिग अन्तर्गत पहिलो खेलमा लिड्स युनाइटेडविरुद्ध ४ असिस्ट दिदैं म्यानचेस्टर युनाइटेडलाई ५-१ को फराकिलो जित दिलाएका थिए ।

पोग्बा २०१६ मा इटालियन क्लब जुभेन्ट्सबाट युनाइटेड फर्किएका थिए । जुभेन्ट्सबाट सानदार प्रदर्शन गर्दै युनाइटेडमा भित्रिएका पोग्बाको प्रदर्शन खास रहन सकेको छैन ।  पोग्बाले म्यानचेस्टर युनाइटेडबाट पछिल्लो ६ सिजनमा २०० खेल खेल्दा ३८ गोल गरेका छन् ।

सन् २०२२ को समर म्याड्रिडको लागि विशेष रहन सक्ने अनुमान गरिएको छ । म्याड्रिड अर्को सिजन फ्रि एजेन्ट बन्ने अर्का फ्रान्सेली युवा फरवार्ड केलियन एम्बाप्पेलाई अनुबन्ध गर्न पहल गरिरहेको बुझिएको छ । अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीको आगमनसँगै पिएसजीमा असन्तुष्ट रहेका एम्बाप्पे पनि म्याड्रिड जान इच्छुक रहेको बुझिएको छ ।

म्याड्रिडको नजर नर्वेजियन फरवार्ड एर्लिङ हालान्डमा पनि छ । हालान्डको लागि म्यानचेस्टर युनाइटेड, चेल्सी, पीएसजी र बायर्न म्युनिखले पनि चासो देखाइरहेका छन् । जसकारण म्याड्रिडले उनलाई सान्टियागो बर्नबेउमा उतार्न मोटो रकम खर्चनु पर्ने निश्चित छ । म्याड्रिडले फ्रान्सेली खेलाडी पोग्बा र एम्बाप्पेलाई फ्रि एजेन्टमार्फत अनुबन्ध गरेपछि हालान्डलाई मोटो रकम खर्चन सहज हुनेछ ।

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो जुभेन्ट्स गएदेखि म्याड्रिडले फरवार्डलाई अनुबन्ध गर्न चाहिरहेको छ। अहिलो रियलको आक्रमण सम्हाली रहेका करिम बेन्जेमाको ढल्किदो उमेरका कारण पनि म्याड्रिड यी खेलाडीहरुलाई अनुबन्ध गर्न अथक प्रयास गर्ने पक्का छ ।

२०७८ भाद्र १, मंगलवार मा प्रकाशित