साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र माल्दिभ्स भिड्ने

असोज १५ गतेदेखि असोज २७ गते सम्म माल्दिभ्समा आयोजना हुने दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) को खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, नेपाल र माल्दिभ्स गरी छ टोलि सहभागी हुनेछन् ।

प्रतियोगिताको उद्घाटन (असोज १५) खेलमा नेपालले गत संस्करणको विजेता समेत रहेको घरेलु टोलि माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । पछिल्लो पटक यी दुई टोलीबीच २०१८ मा सम्पन्न साफको सेमिफाइनलमा भेट भएको थियो । उक्त खेलमा ३-० गोलअन्तरको हार बेहोर्दै नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो ।

आफ्नो दोस्रो खेलमा नेपालको भेट श्रीलंकासँग असोज १७ गते हुनेछ । नेपालले आफ्नो तेस्रो खेलमा असोज २२ गते भारतको सामना गर्नेछ । अन्तिम खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ । उक्त खेल असोज २४ गते हुनेछ ।

लिग चरणमा उत्कृष्ट हुने दुई टोलिबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । साफ च्याम्पियनसिपको फाइनल खेल असोज २७ गते हुनेछ । साफ च्याम्पियनशीपका सबै खेल राजधानी मालेस्थित राष्ट्रिय फुटबल रङ्शालामा खेलाइनेछ ।

साफ च्याम्पियनसिपको सर्वाधिक सफल टिम भारतले ७ पटक उपाधी उचालेको छ । नेपाल भने प्रतियोगितामा हालसम्म फाइनल समेत पुगेको छैन ।

साफ च्याम्पियनसिपको तयारि स्वरूप नेपालले भारतसंग घरेलु मैदान दशरथ रंगशालामा भदौ १७ र २० गते दुईवटा मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ ।

प्रतियोगिताको तयारी गर्ने क्रममा नेपालको राष्ट्रिय फुटबल टोलि बन्द प्रशिक्षणमा हाल पोखरामा छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपको तयारीमा रहेको टोलीबाट सोमबार मात्र तेस्रो चरणको छनोटमा २८ खेलाडी छनोट गरेका थिए ।

२८ सदस्यीय टोली : किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, अर्पण कार्की, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज ठकुरी, सुमन लामा, कमल थापा मगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशिष लामा, अभिषेक रिजाल, शिशिर लेखी

२०७८ भाद्र २, बुधबार मा प्रकाशित