पिएसजीबाट डेब्यु गर्न मेस्सीले अझै प्रतिक्षा गर्नुपर्ने, ब्रेस्टविरुद्ध नखेल्ने पक्का

फ्रानेसेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) सँग अगष्ट १० मा औपचारिक रुपमा अनुबन्धित भएका अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले डेब्युको लागि अझै प्रतिक्षा गर्नुपर्ने भएको छ । मेस्सीले फ्रान्सेली लिग ‘लिग १’ अन्तर्गत शुक्रबार ब्रेस्टविरुद्ध हुने खेल नखेल्ने पक्का भएको हो ।

मेस्सीले कहिले गर्दैछन् पिएसजीबाट डेब्यु ?

मेस्सीसँगै ब्राजिलियन स्टार फरवार्ड नेयमार पनि टोलीमा छैनन् । यस्तै, युरोकप विजेता गोलरक्षक जियानलुजी डोनारुम्मा र मिडफिल्डर मार्को भेराटीसहित कप्तान मार्क्विनहस र एन्जेल डी मारिया टोलीमा फर्किएका छन् ।

स्काई स्पोर्ट्सको अनुसार हाल म्याच फिटनेसका लागि प्रशिक्षण गरिरहेका मेस्सीले अगस्ट २९ मा हुने राइम्सविरुद्धको खेलबाट डेब्यु गर्नेछन्। लिगमा २ खेल खेलेको राइम्सले दुवै खेलमा अंक बाढेको छ । मेस्सीले क्लबबाट ३० नम्बरको जर्सी लगाएर खेल्नेछन् ।

 

पिएसजीले लिगमा यसअघिनै २ खेल खेलिसकेको छ । दुवै खेलमा जित निकालेको उसले ६ अंक जोडेको छ । ३४ वर्षीय मेस्सी भने उक्त खेहरुमा टोलीमा थिएनन् ।

यसअघि बार्सिलोनाको आर्थिक समस्याको कारण मेस्सी क्लब छाड्न बाध्य भएका थिए । त्यसपछि फ्रि एजेन्ट बनेका मेस्सी २ वर्षको सम्झौतामा पिएसजी पुगेका हुन् ।

२०७८ भाद्र ४, शुक्रबार मा प्रकाशित