फ्रान्सेली लिग ‘लिग वान’ अन्तर्गत पेरिस सेन्ट जर्मन (पिएसजी) ले लगातार तेस्रो जित निकालेको छ । पिएसजीले गए राती सम्पन्न खेलमा ब्रेस्टलाई उसैको घरमा ४-२ गोलअन्तरले पराजित गरेको हो ।
पिएसजीको जितमा एन्डर हेरेरा, केलियन एमबाप्पे, इड्रिसा गाना गुआई र एन्जल डि मारियाले समान एक-एक गोल गरे । घरेलु टोलीका फ्रान्क होनोरट र सिटभ मोउनीले गोल फर्काए ।
खेलको २३ औं मिनेटमा हेरेराले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए । एमबाप्पेको क्रसको सदुपयोग गर्दै उनले गरेको भली प्रहार गोलरक्षक मार्काे विजोटलाई लाग्दै गोल भएको थियो ।
खेलको ३६ औं मिनेटमा एमबाप्पेले गोल गर्दै भ्रमण टोलीलाई खेलमा २-० ले अघि बढाए । जर्जिनो वाइनाल्डमले गरेको प्रहार विपक्षी डिफेन्डरलाई डिफलेक्ट भएर आएपछि उनले हेडमार्फत गोल गरेका थिए ।
We earn 3️⃣ points away from home 💪#Ligue1 | #SB29PSG pic.twitter.com/bN0KLH6rsa
— Paris Saint-Germain (@PSG_English) August 20, 2021
पहिलो हाफको अन्त्यतिर फ्रान्क होनोराटले रोमेन फाइभ्रेको असिस्टमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए । पहिलो हाफमा पिएसजीले २-१ को अग्रता बनाएको थियो ।
७३ औं मिनेटमा इड्रिसाले हेरेराको पासमा बक्स बाहिरबाट सानदार गोल गर्दै पिएसजीलाई सहज जिततर्फ डोर्याए । तर, ८५ औं मिनेटमा रोमन फाइभ्रेको पासमा स्टिभ मोउनीले गोल गर्दै खेललाई ३-२ को रोमान्चक स्थितिमा ल्याए ।
९० औं मिनेटमा डि मारियाले हाकिमीको पासमा गोल गर्दै पिएसजीको जित सुनिस्चित पारे । जितसँगै ३ खेलमा ९ अंक बटुलेको पिएसजी अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।
पिएसजीको टोलि फरवार्डद्वय लिओनेल मेस्सी र नेयमारको अनुपस्थितिमै मैदान उत्रिएको थियो । दुवै खेलाडीले ढिलो प्रशिक्षण गरेका कारण खेल गुमाएका हुन् । युरोकप विजेता गोलरक्षक डोनारुम्मा बेन्चमा रहेता पनि क्लबबाट डेब्यु गर्ने मौका पाएनन् ।
सम्बन्धित :– मेस्सीले कहिले गर्दैछन् पिएसजीबाट डेब्यु ?