IPL2022 : स्यामसनलाई महँगो मूल्यमा राजस्थानले गर्यो रिटेन

इन्डियन प्रिमियर लिग ( आईपीएल ) टिम राजस्थान रोयल्सले लिगको १५ औं सिजनको मेगा अक्सन सुरु हुनु अघि आफ्नो कप्तान सन्जु स्यामसनलाई टिममा कायम राखेको छ।

२७ वर्षीय स्यामसन पछिल्लो केहि वर्ष देखि राजस्थानको अहम सदस्य रहँदै आएका छन् र पछिल्लो वर्ष उनलाई कप्तानी सुम्पिएको थियो। स्यामसनले प्रति सिजन १४ करोड भारु ( २२ करोड ४० लाख नेपाली रुपैयाँ ) मा टिमसंग रहने निर्णय लिएका हुन्।

स्यामसन सन् २०१८ मा ८ करोड भारुमा टिममा जोडिएका थिए। व्यक्तिगत प्रदर्शन राम्रो रहेता पनि राजस्थान भने उनको कप्तानीमा प्लेअफ पुग्न सकेको छैन। गत सिजन उनले १३७ को स्ट्राइक रेटमा ४८४ रन बनाएका थिए।

राजस्थानले आफ्नो अन्य रिटेन खेलाडीहरुको सूची छिट्टै सार्वजनिक गर्नेछ। जोस बटलर, यशस्वी जैसवाल, जोफ्रा आर्चर र लियाम लिभिंगस्टोन जस्ता खेलाडीहरु यो सूचीमा रहन सक्नेछन्। आर्चर घाइते हुँदा गत सिजन प्रतियोगिता गुमाउन पुगेका थिए जो २०२० मा लिगको उत्कृस्ट खेलाडी चुनिएका थिए। राजस्थान आर्चरलाई टिममा कायम राख्न चाहन्छ जसको फिटनेसमा भने अझै प्रश्नचिन्ह छ। लिभिंगस्टोन पछिल्लो समय उत्कृस्ट लयमा रहेका छन्। जोस बटलर संगै बेन स्टोक्सलाई पनि टिमले रिटेन गर्न चाहनेछ तर स्टोक्सलाई महँगो मूल्य तिर्न भने टिम तयार हुनु पर्नेछ।

आईपीएलमा टिमहरुलाई रिटेन गर्ने खेलाडीको घोषणा गर्न ३० नोभेम्बरसम्मको समय सिमा तोकेको छ। ८ वटा टिमहरुले ४ खेलाडीलाई रिटेन गर्न सक्नेछन्। जबकी लखनउ र अहमदाबादले २५ डिसेम्बरसम्म रिटेन नगरिएका खेलाडीहरु मध्ये ३ जना खेलाडीलाई किन्न सक्नेछ। खेलाडी लिलामी गर्न टिमहरुले ९० करोड भारतीय रुपैयाँ खर्च गर्न पाउनेछन्।

यदी टिमले ४ जना खेलाडीहरुलाई रिटेन गर्छ भने टिमको पर्समा रहेको ९० करोड भारुबाट ४४ करोड भारु काटिनेछ। यदी तिन खेलाडीलाई रिटेन गर्छ भने ३३ करोड भारु, दुई खेलाडी गरे २४ करोड भारु तथा एक खेलाडी गरे १४ करोड भारु काटिनेछ। कुनै पनि अनक्याप्ड खेलाडीलाई अधिकतम चार करोड भारुमा रिटेन गर्न सकिनेछ। खेलाडीहरुमानै रिटेन हुने या अक्सनमा जाने अन्तिम निर्णय निहित हुनेछ।

सम्बन्धित : IPL 2022 : दिल्लीले ४ खेलाडीलाई गर्यो रिटेन, पन्त, पृथ्वी, अक्षर र नोर्किया दिल्लीमै

२०७८ मंसिर ११, शनिबार मा प्रकाशित