राम्रो पिच बनाएपछि द्रविडले दिए क्युरेटरलाई नगद पुरस्कार

भारत र न्युजिल्यान्ड बीच पहिलो टेस्ट बराबरीमा टुंगिएपछि भारतीय क्रिकेट टिमका मुख्य प्रशिक्षक राहुल द्रविडले राम्रो पिच तयार गरेको भन्दै कानपुरका पिच क्युरेटर सहितको टिमलाई नगद पुरस्कार दिएका छन्।

भारतको कानपुरमा सम्पन्न टेस्ट पाँचौ दिनसम्म पुगेर अन्ततः रोमान्चक तरिकाले बराबरीमा टुंगिएको थियो। पिचले ब्याट्सम्यानसंगै बलरलाई समेत सहयोग गर्यो जसकारण प्रतिस्पर्धात्मक खेल भयो।

पिचबाट खुसि भएका द्रविडले पिच क्युरेटर शिव कुमार सहितको ग्राउण्ड स्टाफ टिमलाई ३५ हजार भारु ( ५६ हजार नेपाली रुपैयाँ ) दिएका छन्। भारतको उत्तर प्रदेश क्रिकेट एसोसिएसनले ( युपिसीए ) खेल पछि द्रविडले उक्त पुरस्कार रकम दिएको घोषणा गरेको थियो।

युपिसीएले खेल पछि बिज्ञप्ति जारि गर्दे बताएको छ – “हामि एउटा अधिकारिक घोषणा गर्न चाहन्छौं। राहुल द्रविडले हाम्रो ग्राउण्डसस्यानलाई व्यक्तिगतरुपमा ३५ हजार ( भारु ) दिएका छन्।”

टेस्ट म्याचको लागि उचित पिचमा श्रेयस ऐयर, शुबमन गिल, टम लाथम, विल योंग जस्ता ब्याट्सम्यानहरुले रन बनाए भने टिम साउदी, कायल जेमिसन जस्ता बलरहरुले भारतीय ब्याट्सम्यानलाई सताएका थिए। भारतीय स्पिनर रभीचन्द्रन आश्विन, अक्षर पटेल र रभीन्द्र जडेजा समेत चम्किएका थिए।

टेस्टको पहिलो इनिंग्समा भारतले श्रेयस ऐयरको शतक मद्दतले ३४५ रन बनाएको थियो। न्युजिल्यान्डले पहिलो इनिंग्समा २९६ रन बनाएपछि दोश्रो इनिंग्समा भारतले २३४/७ को योगफल बनाएर इनिंग्स समाप्तिको घोषणा गरेको थियो।

२०७८ मंसिर १४, मंगलवार मा प्रकाशित