आईपीएलको सबैभन्दा सफल टिम मध्येको चेन्नाई सुपर किंग्सले आईपीएल २०२२ सिजनको लागि चार खेलाडी रिटेन गरेको छ। चेन्नाईले कप्तान महेन्द्र सिंह धोनी सहित रभीन्द्र जडेजा, मोईन अलि र रुतुराज गायकवाडलाई रिटेन गरेको हो।
आश्चर्यको कुरा धोनीलाई चेन्नाईले जडेजा भन्दा कम मूल्यमा रिटेन गरेको छ। जडेजा र धोनी लामो समय देखि टिमसंग रहँदै आएका छन् र धोनी पछि जडेजालाई टिम कप्तानीको रुपमा पनि हेरिएको छ।
धोनीलाई पछिल्लो सिजन १५ करोड भारु स्यालरी दिईएकोमा यसलाई घटाएर १२ करोड भारु ( १९ करोड, १९ लाख, ७८ हजार नेपाली रुपैयाँ ) मा रिटेन गरिएको छ। धोनीले यो निर्णय आफै लिएको बताईएको छ।
अलराउण्डर जडेजालाई चेन्नाईले १६ करोड भारु ( २५ करोड, ५९ लाख ७१ हजार नेपाली रुपैयाँ ) मा रिटेन गरेको छ। यस्तै मोईन अलिलाई ८ करोड भारु ( १२ करोड, ७९ लाख, ७० हजार नेपाली रुपैयाँ ) तथा रुतुराज गायकवाडलाई ६ करोड भारु ( ९ करोड, ५९ लाख, ७७ हजार नेपाली रुपैयाँ ) मा रिटेन गरेको छ।
चेन्नाईले टिमको केहि ठूला नामहरु रिलिज गरेको छ। सुरेश रैना, ड्वेन ब्राभो, फाफ डु प्लेसीस, स्याम करन, शार्दुल ठाकुर, दिपक चहरलाई रिलिज गरिएको छ।
चेन्नाईले ४ खेलाडी रिटेन्सनमा ४२ करोड खर्चिएपछि अक्सनको लागि ४८ करोड भारु बाँकी रहेको छ।
रिटेन्सन पछि बोल्दै टिमका एक प्रशिक्षक लक्ष्मीपति बालाजीले महत्वपूर्ण खेलाडीहरु छोड्नु कठिन निर्णय भएको बताए – “जडेजा, धोनी, अलिलाई प्रतिस्थापन गर्न गार्हो छ त्यसैले रिटेन गरेका छौँ। फाफ, रायडु, ब्राभो जस्ता खेलाडी छोड्नु कठिन निर्णय थियो।”
यो पनि पढ्नुस : IPL : मुम्बईले ४ खेलाडीलाई गर्यो रिटेन, कति पाए रकम, कति रकम छ बाँकी