प्रतिस्पर्धात्मक खेलमा घरेलु टोलि अमेरिकालाई ९ रनले पराजित गर्दै आयरल्याण्डले अमेरिका भ्रमण अन्तर्गत दुई खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज बराबरीमा टुंग्याएको छ।
सेन्ट्रल ब्रोवार्ड स्टेडियममा सम्पन्न खेलमा आयरल्याण्डले दिएको १५१ रनको लक्ष्य पछ्याएको अमेरिकाले पुरै २० ओभर ब्याटिंग गरेता पनि ७ विकेट क्षेतीमा १४१ रन मात्र बनाउन सक्यो।
अन्तिम ३ ओभरमा अमेरिकालाई जित्न ४२ रन आवस्यक थियो। अठारौं ओभरमा कर्टिस क्याम्फरले १४ रन खर्चिए पनि क्रिजमा जमेका सुशान्त मोदानी, मार्टि केन तथा यासिर मोहम्मदको विकेट लिंदै आयरल्याण्डलाई खेलमा हावी बनाए। ८९ रनमा ४ विकट गुमेको अवस्थामा मोदानीले केनसंग ३३ रनको साझेदारी गर्दै जितको आशा देखाएका थिए। अन्तिम ओभरमा १७ रन आवस्यक हुँदा मार्क अडेरले ७ रन मात्र खर्चंदै जित दिलाए।
अमेरिकाको लागि सुशान्त मोदानीले २७, मोनाक पटेलले २६, गजानन्द सिंहले २२ तथा रित्विक बेहराले १६ रन योगदान दिए। आयरल्याण्ड पेसर कर्टिस क्याम्फरले सर्वाधिक ४ विकेट ( ४-१-२५-४ ) लिए भने मार्क अडेर र बेन व्हाइटले एक/एक विकेट लिए।
टस हारेर ब्याटिंग रोजेको आयरल्याण्डले १८.५ ओभरमा सबै विकेट गुमाएर १५० रन बनाएको थियो।
आयरल्याण्डको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका लोर्कन टकरले सर्वाधिक ८४ रन बनाए जुन क्रममा ५६ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। कर्टिस क्याम्फरले १७, सिमि संघले १३ तथा एन्ड्रयु बालबर्नीले १० रन योगदान दिए। पहिलो ओभरमा स्टरलिंग आउट भएपछि ब्याटिंगमा आएका टकर अन्तिम विकेटको रुपमा आउट भए। अर्को किनारमा विकेट गुमेता पनि टकरले एक किनार सम्हालेर ब्याटिंग गरे।
अमेरिकाको बलिंगमा सौरभ नेत्र्भालकरले ३ तथा निसर्ग पटेल, यासिर मोहम्मद र भात्सल भागेलाले समान दुई विकेट लिए।
सिरिज अन्तर्गत पहिलो खेलमा अमेरिका २६ रनले विजयी भएको थियो। दुई देश बीच डिसेम्बर २६ तारिख देखि तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज खेलिनेछ।