आईपीएलको नयाँ टिम लखनऊको नाम सार्वजनिक

आईपीएल २०२२ मा जोडिएको नयाँ टिम लखनऊले टिमको अधिकारिक नाम सार्वजनिक गरेको छ।

केएल राहुल कप्तानीको टिमको नाम ‘लखनउ सुपर जायन्टस’ Lucknow Super Giants रहने फ़्रेन्चाइजले घोषणा गरेको छ। राहुललाई लखनउले रेकर्ड मूल्यमा टिममा अनुबन्ध गरेको थियो।

लखनऊले केएल राहुललाई १८ करोड भारुमा अनुबन्ध गरिसकेको छ। यस्तै टिमले अस्ट्रेलियन अलराउण्डर मार्कस स्टोइनिस तथा अनक्याप्ड लेग स्पिनर रभी बिस्नोईलाई पनि अनुबन्ध गर्ने घोषणा गरेको छ। स्टोइनिसले ९.२ करोड भारु तथा बिस्नोईले ४ करोड भारु पाउनेछन्।

लखनउले पूर्व जिम्बाब्वे कप्तान तथा इंग्ल्यान्ड प्रशिक्षक एन्डी फ्लावरलाई प्रमुख प्रशिक्षक नियुक्त गरेको छ। यस्तै पूर्व भारतीय कप्तान गौतम गम्भीरलाई मेन्टरको रुपमा नियुक्त गरेको छ जसले कोलकातालाई दुई पटक आईपीएल उपाधि जिताएका थिए।

आईपीएलमा जोडिएको अर्को नयाँ टिम अहमदावादले टिमको नाम सार्वजनिक गरेको छैन। अहमदावादको कप्तानी हार्दिक पान्ड्याले गर्दैछन् भने राशिद खान र शुबमन गिललाई पनि अनुबन्ध गरिसकेको छ। पान्ड्या र राशिदलाई समान १५ करोड भारुमा तथा शुबमन गिललाई ८ करोड भारुमा अनुबन्ध गरिएको हो।

आईपीएलको आगामी सिजन मार्च २७ तारिखबाट सुरु हुने बताईएको छ। लिग सम्भव भएसम्म भारत यात दक्षिण अफ्रीकामा आयोजना गरिने बताईएको छ।

२०७८ माघ १०, सोमबार मा प्रकाशित