नेदरल्याण्डका फास्ट बलर भिभिएन किंग्मालाई अफगानिस्तान बिरुद्ध मंगलबार सम्पन्न तेश्रो एक दिवसीय अन्तर्राष्ट्रियमा बल टेम्परिंग गरेकोमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) द्वारा चार खेलको प्रतिबन्ध लगाइएको छ।
“किंग्मा आईसीसीको खेलाडी आचारसंहिता अन्तर्गत आर्टिकल २.१४ अन्तर्गत दोषी पाइएका छन् जसमा बलको स्वरूप परिवर्तन परिवर्तन गर्नु रहेको छ।” आईसीसीले बिज्ञप्ति जारि गर्दै बताएको छ। चार खेलमा प्रतिबन्ध बाहेक किंग्मालाई अनुशाशनको कारवाही स्वरूप पाँच वटा डी-मेरिट पोइन्ट समेत दिईएको छ।
२७ वर्षीय दायाँ हाते पेसर किंग्माले अफगानिस्तानले ब्याटिंग गर्दै गर्दा इनिंग्सको ३१ औं ओभरमा बललाई नङले कोतार्दै बलको स्वरूप बिगारेका थिए। किंग्माले गल्ति र कारवाही स्वीकार गरिसकेका छन् त्यसैले अधिकारिक सुनुवाई गरिने छैन।
दुई देश बीच कतारको दोहामा सम्पन्न सिरिजमा अफगानिस्तान ३-० ले विजयी भएको थियो। किंग्माले सिरिजको तिन खेलमा २६ ओभर बलिंग गर्दै ११८ रन खर्चेर मात्र दुई विकेट लिन सके। अन्तिम खेलमा नेदरल्याण्ड ७५ रनले पराजित हुँदा किंग्माले ५० रन खर्चेर एक विकेट लिए।