ओमानमा सोमबार सम्पन्न चार देश सम्मिलित टि-ट्वान्टी सिरिजमा आयरल्याण्डसंग हारका बाबजुद नेपालका दिपेन्द्र सिंह ऐरी प्लेयर अफ द म्याच चुनिएका छन्।
खेलमा दिपेन्द्रले करियरकै उत्कृस्ट बलिङ्ग स्पेल दर्ता गर्ने क्रममा २१ रन खर्चेर ४ विकेट लिए भने दुई क्याच समेत लिए। त्यसपछि ब्याटिंगतर्फ पनि उनले नेपालको लागि सर्वाधिक २८ रन बनाए। दिपेन्द्रको स्पेल ( ४-०-२१-४ ) टि-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाली बलरको चौंथो उत्कृस्ट स्पेल हो।
प्लेयार अफ द म्याच दिपेन्द्रले दुर्लभ कीर्तिमान समेत आफ्नो नाम गरे। नेपालले सन् २०१४ देखि टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेल्दा नेपाल पराजित भएको खेलमा नेपालकै खेलाडी प्लेयर अफ द म्याच चुनिएको यो नै पहिलो पटक हो।
प्लेयर अफ द म्याच घोषित भए पछि अन्तर्वार्ताको क्रममा दिपेन्द्रले आफुले गरेको अभ्यास अनुरुप खेलीरहेको र आफ्नो सटहरुमा विश्वास राखेको प्रतिक्रिया दिए। प्रेजेन्टरले अंग्रेजीमा प्रश्न गर्दा उनलाई कप्तान सन्दिप लामिछानेले उल्था गरेर प्रश्न बुझाउदै उत्तर समेत उल्था गरेका थिए। दिपेन्द्रले ब्याटिंग र बलिंग मध्ये कुन पक्ष बढी मन पर्छ भन्ने प्रश्नमा ‘ब्याटिंग’ जवाफ दिए।
ओमान भ्रमणमा राम्रो लयमा देखिएका ऐरीले ३ खेलमा १४२ रन बनाएका छन्। पहिलो खेलमा ओमानसंग नेपाल विजयी हुँदा पनि प्लेयर अफ द म्याच घोषित ऐरीले अविजित ७३ रन बनाएका थिए। दोश्रो खेलमा उनले युएईसंग ४१ रन बनाए। पहिलो दुई खेलमा विकेट विहिन उनले तेश्रो खेलमा आयरल्याण्डसंग २८ रन बनाउनुको साथै ४ विकेट समेत लिए।
ऐरी टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको तेश्रो सर्वाधिक रनकर्ता हुन्। उनले नेपालको लागि २९ खेल खेल्दा दुई अर्धशतक प्रहार गर्दै ३०.९५ को औशत र १२५.८१ को स्ट्राइक रेटमा ६१९ रन बनाएका छन्। उनि भन्दा धेरै पारस खड्काले ( ३३ खेलमा ७९९ रन ) र ज्ञानेन्द्र मल्लले ( ३५ खेलमा ७१३ रन ) बनाएका छन्।