ओमानमा जारि टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट प्रतियोगिता अन्तर्गत नेपालले दोश्रो खेलमा फिलिपिन्ससंग प्रतिस्पर्धा गर्नेछ।
पहिलो खेलमा नेपालले आयोजक ओमानलाई ३९ रनले पराजित गर्दै विजयी सुरुवात गरिसकेको छ। अर्कोतर्फ फिलिपिन्स भने आफ्नो पहिलो खेलमा क्यानडासंग ११८ रनले पराजित भैसकेको छ।
नेपाल र फिलिपिन्स पहिलो पटक टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गर्न लागेका हुन्। समुह ‘बि’ अन्तर्गतको तेश्रो खेल शनिवार बिहान ११:४५ बजे नेपाल र फिलिपिन्स बीच खेलिनेछ।खेलको प्रत्यक्ष प्रशारण हिमालय टिभी र युट्युबमा ओएसआर स्पोर्ट्सले गरिरहेको छ। नेपाल बाहिर हुनेहरुले फ्यान कोड एप र आईसीसी टिभी ( ICC.tv ) बाट प्रत्यक्ष प्रशारण हेर्न सक्नेछन्।
सन् २०१९ पछि फिलिपिन्स पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेलीरहेको छ। क्यानडा बिरुद्ध खेलमा कमजोर प्रदर्शन गरेको उसले २१८ रनको लक्ष्य पछ्याउने क्रममा ९८ रन मात्र बनाउन सक्यो।
ओमान बिरुद्ध कमजोर देखिएको नेपालको ब्याटिंगले कमजोर फिलिपिन्स बिरुद्ध आत्मविश्वास पाउने छन्। ओमान बिरुद्ध नेपालका अधिकांश ब्याट्सम्यान फ्लप भए पछि नेपाली टिममा चिन्ता छाएको छ। पूर्व कप्तान ज्ञानेन्द्र मल्ल लगातार फ्लप सावित हुँदा मध्यक्रममा अनुभवी ब्याट्सम्यानको कमि देखिएको छ। आरिफ शेखको फर्म भने नेपालको लागि शुभसंकेतको रुपमा आएको छ। ओमान बिरुद्ध शानदार रहेको नेपालको बलिंगले भने टिमबाट ठूलो आशा गर्ने माध्यम बनेको छ।
कमजोर फिलिपिन्स बिरुद्ध ठूलो जित निकालेको खण्डमा दुई जित र नेट रनरेटमा समेत बलियो हुँदै नेपालले सेमीफाइनल सम्भावना लगभग पक्का गर्नेछ। फिलिपिन्स सबै खेलमा पराजित भएको खण्डमा नेपाल बाहेक क्यानडा र ओमान मध्ये एक टिम सेमीफाइनल पुग्नेछ। समुह ‘बि’ मा रहेका नेपाल, ओमान, क्यानडा र फिलिपिन्स मध्ये उत्कृस्ट दुई टिम सेमीफाइनल पुग्नेछ। सबै टिमले एक अर्कासंग एक खेल खेलेपछि अंकतालिकामा शिर्ष हुने टिम निर्क्योल हुनेछ। समुह ‘बि’ को विजताले सेमीफाइनलमा समुह ‘ए’ को उपविजेतासंग तथा समुह ‘बि’ को उपविजेताले सेमीफाइनलमा समुह ‘ए’ को विजेतासंग खेल्नेछ। समुह ‘ए’ मा आयरल्याण्ड, युएई, बहराईन र जर्मनी छन्।
नेपाली टिम : सन्दिप लामिछाने ( कप्तान ) , शरद भेसावकर, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, अविनाश बोहरा, जितेन्द्र मुखिया, कमल सिंह ऐरी, बिबेक यादव, लोकेश बम, सागर ढकाल र गुल्सन झा
फिलिपिन्स टिम : जोनाथन हिल ( कप्तान ) , ड्यान स्मिथ, हेनरी टाईलर, ग्रान्ट रस, रिची गुडविन, जोर्डन एलेग्रा, सचिन बिडप्पा, विमल कुमार, सिभ मोहन, हुजेफा मुहम्मद, गुरभुपिंदर चोहान, मुजामिल शहजाद, मिगी पोडोस्की, हेर्न इसोरेना