महंगो विश्वकपको आकर्षक पुरस्कार

विश्व फुटबलको महाकुम्भ मेला २२औँ विश्वकप फुटबल आज (आइतबार) राति कतारको दोहामा भव्य समारोहबीच सुरु हुँदैछ । विश्वकपमा सहभागिता जनाउन सहभागी ३२ टोलीका आठ सय ३१ खेलाडी, प्रशिक्षक, अफिसियल र पदाधिकारी कतार पुगिसकेका छन् ।

दोहास्थित ६० हजार दर्शक क्षमताको अल बेयट रङ्गशालामा भव्य समारोहबीच हुने उद्घाटन खेलमा आयोजक कतारले विभिन्न देशका विशिष्ट पाहुनाको स्वागतसहित आफ्नो सांस्कृतिक झलक प्रस्तुत गर्दैछ । उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच राति ९:४५ बजे प्रतिस्पर्धा हुँदैछ ।

कतारले आयोजकको हिसाबले सोझै विश्वकपमा सहभागिताको अवसर पाएको हो । इक्वेडर दक्षिण अमेरिकी देशबाट छनोट भएको हो । समूह ‘ए’ मा आयोजक कतार र इक्वेडरसहित सेनेगल र नेदरल्यान्ड्स रहेका छन् । उद्घाटन खेलमा दुवै टोलीले सुखद नजिता निकाल्ने दाबी गरेका छन् ।

कतारले यस विश्वकपलाई आर्थिक लगानीका हिसाबले समेत कुनै कसर बाँकी राखेको छैन । लगानीको दृष्टिले यस विश्वकप अहिलेसम्मकै ठूलो लगानी भएको विश्वकप हो । कतारले विश्व कपका लागि दुई सय अर्बभन्दा बढी अमेरिकी डलर खर्च गरेको छ ।

सन् २०१० को फिफा कांग्रेसले कतारलाई २०२२ को विश्वकप आयोजनाको अधिकार सुम्पिएपछि खेलस्थल र मौसमको विषयलाई लिएर मुख्यतः पश्चिमा देशहरूले खरो आलोचना गर्दै आएका थिए । पश्चिमा देशले कतारको मौसमसँगै त्यहाँ आप्रवासी कामदारको श्रम शोषण तथा समलिङ्गीमाथिको विभेदलाई समेत प्रमुख मुद्दा बनाएका थिए ।

त्यही आलोचनालाई चिर्न कतारले सातवटा थप अत्याधुनिक वातानुकूलित रङ्गशाला बनाएको छ । विश्वकपका खेलहरू कतारको एउटै सहरका आठ वटा अत्याधुनिक रङ्गशालामा हुँदैछन् । यस्तै आधुनिक सडक, होटलल, सपिङ सेन्टरलगायतका पूर्वाधार निर्माणमा समेत कतारले ठूलो धनराशि खर्चिएको छ ।

कतारले पछिल्लो समय आप्रवासी कामदारको श्रमको मुद्दालाई पनि समाधान गरेको फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले बताउनुभएको छ । बाहिर उठेका सबै खाले आवाजलाई चिर्न लागि परेका कारण कतार विश्वकप अहिलेसम्मकै सर्वाधिक खर्चिलो विश्वकप भएको छ ।

पुरस्कार राशिमा भारी वृद्धि

कतार विश्वकपले विश्वको ध्यान खिचिरहेको अवस्थामा विजेताले पाउने पुरस्कारको विषयले पनि चर्चा पाएको छ । कतार विश्वकपको खर्चिलो आयोजनासँगै विजेताले पाउने पुरस्कारमा पनि भारी वृद्धि भएको छ । विश्वकपमा सहभागी ३२ वटै टोलीले नगद पुरस्कार पाउनेछन् ।

कतार विश्वकपको विजेता टोलीले ४२ मिलियन अमेरिकी डलर (करिब ५ अर्ब ४५ करोड रुपियाँ) पुरस्कार पाउनेछ । यो रकम सन् २०१८ को २१औँ संस्करणभन्दा चार मिलियन अमेरिकी डलरले बढी हो । विजेताले नगदसहित सुनको जडित ६.१ किलोग्रामको आकर्षक ट्रफी हात पार्नेछ । यो सक्कली ट्रफी रनिङ ट्रफी हो । कुनै पनि देशले लगातार तीन पटक विश्वकप जितेमा मात्र सक्कली ट्रफी सँधैका लागि लैजान पाउने छ ।

यस्तै उपविजेताले ३० मिलियन अमेरिकी डलर, तेस्रो हुनेले २७ मिलियन अमेरिकी डलर र चौथो हुनेले २५ मिलियन अमेरिकी लडर पुरस्कार पाउनेछन् । क्वार्टरफाइनलमा पुग्ने टोलीले १७ मिलियन, अन्तिम १६ मा पुग्ने प्रत्येक टोलीले १३ मिलियन र समूह चरणमा खेल्ने सबैले नौ मिलियन अमेरिकी डलर प्राप्त गर्नेछन् ।

नेपाली समयअनुसार खेल तालिका

कतार विश्वकपमा सहभागी टोलीलाई आठ समूहमा विभाजन गरिएको छ । सहभागी ३२ टोलीबीच कूल ६४ खेल हुनेछ । समूह चरणपछि प्रत्येक समूहबाट दुई टोली प्रिक्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।

त्यसपछि आठ टोली क्वार्टरफाइनल, चार टोली सेमिफाइनल हुँदै अन्तिममा दुई टोलीबीच फाइनल भिडन्त हुनेछ । सेमिफाइनलमा पराजित टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

समूह ‘ए’ (कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्)

उद्घाटन खेल मंसिर ४ (कतारविरुद्ध इक्वेडर–राति ९:४५ बजे)

मंसिर ५ (सेनेगलविरुद्ध नेदरल्यान्ड्स–राति ९:४५ बजे)

मंसिर ९ (कतारविरुद्ध सेनेगल–साँझ ६:४५ बजे)

मंसिर ९ (नेदरल्यान्ड्सविरुद्ध इक्वेडर–राति ९:४५ बजे)

मंसिर १३ (इक्वेडरविरुद्ध सेनेगल–राति ८:४५ बजे)

मंसिर १३ (नेदरल्यान्ड्सविरुद्ध कतार–राति ८:४५ बजे)

समूह ‘बी’ (इङ्ग्ल्यान्ड, इरान, अमेरिका र वेल्स)

मंसिर ५ (इङग्ल्यान्डविरुद्ध इरान–साँझ ६:४५ बजे)

मंसिर ५ (अमेरिकाविरुद्ध वेल्स–राति १२:४५ बजे)

मंसिर ९ (वेल्सविरुद्ध इरान–दिउँसो ३:४५ बजे)

मंसिर ९ (इङग्ल्यान्डविरुद्ध अमेरिका–राति १२:४५ बजे)

मंसिर १३ (वेल्सविरुद्ध इङग्ल्यान्ड–राति १२:४५ बजे)

मंसिर १३ (इरानविरुद्ध अमेरिका–राति १२:४५ बजे)

समूह ‘सी’ (अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड)

मंसिर ६ (मेक्सिकोविरुद्ध पोल्यान्ड–राति ९:४५ बजे)

मंसिर ६ (अर्जेन्टिनाविरुद्ध साउदी अरब–दिउँसो ३:४५ बजे)

मंसिर १० (पोल्यान्डविरुद्ध साउदी अरब–साँझ ६:४५ बजे)

मंसिर १० (अर्जेन्टिनाविरुद्ध मेक्सिको–राति १२:४५ बजे)

मंसिर १४ (पोल्यान्डविरुद्ध अर्जेन्टिना–राति १२:४५ बजे)

मंसिर १४ (साउदी अरेबियाविरुद्ध मेक्सिको–राति १२:४५ बजे)

समूह ‘डी’ (फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया)

मंसिर ६(फ्रान्सविरुद्ध अष्ट्रेलिया–राति १२:४५ बजे)

मंसिर ६ (डेनमार्कविरुद्ध ट्युनिसिया–साँझ ६:४५ बजे)

मंसिर १० (ट्युनिसियाविरुद्ध अष्ट्रेलिया–दिउँसो ३:४५ बजे)

मंसिर १० (फ्रान्सविरुद्ध डेनमार्क–राति ९:४५ बजे)

मंसिर १४ (अष्ट्रेलियाविरुद्ध डेनमार्क–राति ८:४५ बजे)

मंसिर १४ (ट्युनिसियाविरुद्ध फ्रान्स–राति ८:४५ बजे)

समूह ‘ई’ (स्पेन, कोस्टारिका, जर्मनी र जापान)

मंसिर ७ (स्पेनविरुद्ध कोस्टारिका–राति ९:४५ बजे)

मंसिर ७ (जर्मनीविरुद्ध जापान–साँझ ६:४५ बजे)

मंसिर ११ (जापानविरुद्ध कोस्टारिका–दिउँसो ३:४५ बजे)

मंसिर ११ (स्पेनविरुद्ध जर्मनी–राति १२:४५ बजे)

मंसिर १५ (जापानविरुद्ध स्पेन–राति १२:४५ बजे)

मंसिर १५ (कोस्टारिकाविरुद्ध जर्मनी–राति १२:४५ बजे)

समूह ‘एफ’ (बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसिया)

मंसिर ७ (बेल्जियमविरुद्ध क्यानडा–राति १२:४५ बजे)

मंसिर ७ (मोरक्कोविरुद्ध क्रोएसिया–दिउँसो ३:४५ बजे)

मंसिर ११ (बेल्जियमविरुद्ध मोरक्को–साँझ ६:४५ बजे)

मंसिर ११ (क्रोएसियाविरुद्ध क्यानडा–राति ९:४५ बजे)

मंसिर १५ (क्रोएसियाविरुद्ध बेल्जियम–राति ८:४५ बजे)

मंसिर १५ (क्यानडाविरुद्ध मोरक्को–राति ८:४५ बजे)

समूह ‘जी’ (ब्राजिल, सर्बिया, स्वीट्जरल्यान्ड र क्यामरुन)

मंसिर ८ (स्वीट्जरल्याण्डविरुद्ध क्यामरुन–दिउँसो ३:४५ बजे)

मंसिर ८ (ब्राजिलविरुद्ध सर्बिया–राति १२:४५ बजे)

मंसिर १२ (क्यामरुनविरुद्ध सर्बिया–दिउँसो ३:४५ बजे)

मंसिर १२ (ब्राजिलविरुद्ध स्वीट्जरल्यान्ड–राति ९:४५ बजे)

मंसिर १६ (सर्बियाविरुद्ध स्वीट्जरल्यान्ड–राति १२:४५ बजे)

मंसिर १६ (क्यामरुनविरुद्ध ब्राजिल–राति १२:४५ बजे)

समूह ‘एच’ (पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया)

मंसिर ८ (उरुग्वेविरुद्ध दक्षिण कोरिया–साँझ ६:४५ बजे)

मंसिर ८ (पोर्चुगलविरुद्ध घाना–राति ९:४५ बजे)

मंसिर १२ (दक्षिण कोरियाविरुद्ध घाना–साँझ ६:४५ बजे)

मंसिर १२ (पोर्चुगलविरुद्ध उरुग्वे–राति १२:४५ बजे)

मंसिर १६ (घानाविरुद्ध उरुग्वे–राति ८:४५ बजे)

मंसिर १६ (दक्षिण कोरियाविरुद्ध पोर्चुगल–राति ८:४५ बजे)

( साभार – गोरखापत्र )

२०७९ मंसिर ४, आईतवार मा प्रकाशित