इंग्लिस फरवार्ड ट्यामी अब्राहाम ४० मिलियन पाउण्डमा चेल्सीबाट इटालियन क्लब रोमामा अनुबन्धित भएका छन् । रोमाले उनलाई ५ वर्षे सम्झौतामा भित्र्याएको हो । २३ वर्षीय फरवार्डले रोमाबाट ९ नम्बरको जर्सी लगाउने छन् ।
अब्राहामले रोमाका पुर्व फरवार्ड एडिन जेकोलाई प्रतिस्थापन गरेका हुन् । जेको यसै सिजन रोमा छाडेर इन्टर मिलानमा अनुबन्धित भएका थिए ।
चेल्सीको एकेडेमीमा हुर्किएका अब्राहामले थोमस टुचेलको प्रशिक्षणमा धेरै अवसर पाएका थिएनन् । चेल्सीका लागि उनले ८२ खेल खेल्दा ३० गोल गरेका छन् । गत सिजन उनले चेल्सीबाट च्याम्पियन्स लिग र युरोपेली सुपर कप जितेका थिए ।
New No. 9⃣ … 𝙎𝙊𝙍𝙏𝙀𝘿 🔥
Welcome to Roma, @tammyabraham! 🏴
#ASRoma | @NBFootball pic.twitter.com/RdxjcL5br5— AS Roma English (@ASRomaEN) August 17, 2021
२०१९/२० सिजनको प्रिमियर लिगमा अब्राहामले सानदार प्रदर्शन गरेका थिए । सबै प्रतियोगिता गरेर १८ गोल गरेका उनि टिमको लागि सर्वाधिक गोलकर्ता थिए । गत सिजन उनले चेल्सीका लागि २२ खेलमा ६ गोल गरेका थिए । यस्तै, उनि प्रिमियर लिगमा ह्याट्रिक गर्ने युवा चेल्सी खेलाडी हुन् ।
रोमाले अगष्ट २२ मा फियोरेन्टिनासँग खेल्दै इटालियन लिग ‘सेरी ए’ मा आफ्नो यात्राको थालनी गर्नेछ । रोमा चेल्सीका पुर्व प्रशिक्षक जोसे मौरिन्होको प्रशिक्षणमा रहेको छ । गत सिजन ‘सेरी ए’ अन्तर्गत सातौँ स्थानमा समाप्त गरेको रोमा यो सिजन राम्रो नतिजाको अपेक्षामा रहनेछ ।
अब्राहामलाई अनुबन्ध गर्न इंग्लिस क्लब आर्सनल र इटालियन क्लब एटलान्टा पनि इच्छुक थिए ।