मिलरको आक्रामक ब्याटिंगमा दक्षिण अफ्रिकाको प्रतिस्पर्धात्मक योगफल

दक्षिण अफ्रिका र पाकिस्तानबीच जारि ३ खेलको टि-ट्वान्टी अन्तराष्ट्रिय सिरिज अन्तर्गत आइतबार जारि अन्तिम खेलमा दक्षिण अफ्रिकाले शृंखला जित्नका लागि घरेलु टोलि सामु १६५ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ। यसअघि बिहिबार सम्पन्न पहिलो खेलमा पाकिस्तान ३ रनले तथा शनिबार सम्पन्न दोस्रो खेलमा दक्षिण अफ्रिका ६ विकेटले विजयी भएको थियो।

लाहोर स्थित गद्दाफी स्टेडियममा टस हारेर ब्याटिंगको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६४ रन बनाएको छ। ६५/७ को नाजुक अवस्थाबाट अनुभवी देब्रे हाते ब्याट्सम्यान डेविड मिलरले ४५ बलमा ५ चौका र ७ छक्काको मद्धतमा ८५ रन बनाउदै दक्षिण अफ्रिकालाई प्रतिस्पर्धात्मक योगफलतर्फ डोर्याए। मिलरको यो टिट्वान्टी अन्तराष्ट्रिय खेलमा तेस्रो अर्धशतक हो।

खराब सुरुवात गरेको दक्षिण अफ्रिकाले ओपनर रीजा हेन्ड्रिक्सलाई २ तथा जेजे स्मट्सलाई १ रनमा गुमायो। त्यसपछि अर्का ओपनर जनमन मालनले पिटे वैन बिलजनसँग १७ रनको साझेदारी गर्दै दक्षिण अफ्रिकाको इनिंग्स सम्हाले। ११ बलमा ४ चौकाको मद्धतमा १६ रन बनाएर आक्रामक ब्याटिंग गरेका बिलजनलाई हसन अलिले बोल्ड आउट गरे। छैटौं ओभरमा हसनलाई लगातार ३ चौका हिर्काएपछि उनि लगत्तै अर्को बलमा बोल्ड भएका थिए।

सातौँ ओभरमा जाहिद महमूदले लगातार बलमा कप्तान हेनरिक क्लासेन (०) र मालनलाई आउट पार्दै पाकिस्तानलाई खेलमा हाबी गराए। मालनले १७ बलमा ३ चौका र १ छक्काको मद्धतमा २७ रन बनाए। एंडिले फेलुकवायो खाता नखोली तथा ड्वेन प्रिटोरियस व्यक्तिगत ९ रनमा आउट हुँदा दक्षिण अफ्रिका ६५/७ को नाजुक अवस्थामा पुग्यो। ब्यॉर्न फॉर्टुइनलाई १० रनमा हसन अलिले बोल्ड आउट गरेपछि मिलरले लुथो सिपामलासँग ५८ रनको अर्धशतकीय साझेदारी गरे। सिपामलाले १० बलमा ८ रन बनाउँदै मिलरलाई साथ दिए।

पाकिस्तानको बलिंगतर्फ डेब्युटन्ट जाहिद महमूदले (४-०-४०-३) सर्वाधिक ३ विकेट लिए। हसन अलि र मोहम्मद नवाजले समान २ तथा उस्मान क्वादिलले १ विकेट हात पारे।

२०७७ फाल्गुन २, आईतवार मा प्रकाशित